नेपालीको वार्षिक प्रतिव्यक्ति आय १ लाख १७ हजार रुपैयाँ पुग्दै |
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५∕७६ को अन्त्यसम्ममा नेपालीको वार्षिक प्रतिव्यक्ति आय १ लाख १७ हजार ४५५ रुपैयाँ पुग्ने अनुमान गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार संसदमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गर्दै नेपालीको प्रतिव्यक्ति आय १ हजार ३४ अमेरिकी डलर पुग्ने बताएका हुन् । साथै, आर्थिक सर्वेक्षण प्रतिवेदनमा प्रतिव्यक्ति खर्च योग्य आय १ लाख ५५ हजार रुपैयाँ पुग्ने अनुमान गरेको छ ।
यता, चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनसँग उपभोगको र कुल गार्हस्थ्य बचतको अनुपात क्रमाशः ७९.५५ र २०.५५ पुगेको जनाएको छ । यस्तै, चालु आर्थिक वर्ष कुल लगानी २९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५७ अर्ब हुने अनुमान गरिएको छ । प्रतिवेदनमा कुल गार्हस्थ्य बचतको वृद्धि भन्दा कुल पुँजी लगानीको वृद्धि उच्च रहँदा बचत र लगानीबीचको अन्तर बढ्दै गएको पनि उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०७५∕७६ को फागुनसम्म कुल सरकारी खर्च आर्थिक वर्ष २०७४∕७५ को सोही अवधिको तुलनामा २.२५ ले वृद्धि भई ५ खर्ब ४१ अर्ब पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।