‘च्याम्पीयन अफ इनक्लूज्हन’ अवार्ड विजय जोशीलाई |

एडीलेड । एडीलेड नेप्लिज क्रिकेट एशोसियसन (एनका)का अध्यक्ष विजय जोशी ‘च्याम्पीयन अफ इनक्लूज्हन अवार्ड’ बाट सम्मानित भएका छन् । इनक्लूसिभ स्पोर्ट साउथ अस्ट्रेलियाले आयोजना गरेको आईडीयस १९ ( Inclusion and Diversity in Sport ) सम्मेलनमा नेपाली समुदायका विजय जोशी अवार्डबाट सम्मानित भएका हुन् ।
यहाँ रहेको बहुसाँस्कृतिक समाजमा खेलको माध्यम बाट समुदायमा दिएको योगदानको कदर गर्दै उक्त अवार्डबाट सम्मान गर्ने गरिन्छ । विश्वकै चर्चित एडीलेड ओभलमा आयोजना भएको उक्त कार्यक्रममा जोशीले खेलको माध्यम बाट नेपाली र अस्ट्रेलियन समुदायमा ठूलो प्रभाब पारेको बताइएको थियो ।
फाइनल मनोनयनमा जोशीसँगै आदिवासी समुदायमा सक्रिय शाने बोन्ड र रिनेला अल एबीलिटिस क्रिकेट ब्लास्टकी सह–संस्थापक जेंनी निएडेरेर रहेका थिए । अवार्डपछि जोशीले भने, ‘अवार्ड पाउदा पक्कै पनि खुशी छु , यो अवार्ड मेरो लागि मात्र नभएर साउथ अस्ट्रेलियाको नेपाली समुदाय र एनकाको पनि हो ।’
उनले थपे, ‘समावेशी तथा बिबिधताका साथ खेलकुद कार्यक्रमलाई अझै सशक्त रुपले अगाडि बढाउने जिम्मेवारी समेत थपिएको अनुभब गरेको छु ।’ एनकाको संस्थापक सदस्यसमेत रहेका जोशीको नेतृत्वमा जुनियर क्रिकेट ब्लास्ट, पिंक स्टम्प च्यारिटी कार्यक्रम, रक्तदान कार्यक्रम, अस्ट्रेलिया–नेपाल कपलगायतका थुप्रै कार्यक्रम एनकाले गर्दै आएको छ ।
यस प्रकारको सम्मानले यहाँ रहेको बहुसाँस्कृतिक समाजमा नेपाली समुदायले प्रभाबकारी रुपमा आफ्नो उपस्थिति देखाएको समेत बुझ्न सकिन्छ ।