इन्भेष्टमेन्ट बैंकको २ अर्बको ऋणपत्र २४ गतेबाट, साढे १० प्रतिशत ब्याज |
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले साढे १० प्रतिशत ब्याज दिने गरी जेठ २४ गतेबाट ऋणपत्र निष्काशन गर्न लागेको हो ।
बैंकले ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्ड, राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाइसकेको छ । बैंकले प्रत्येक ६∕६ महिनामा ब्याजको भुक्तानी गर्ने छ ।
ऋणपत्र निष्काशनका लागि बैंकले गरेको क्रेडिट रेटिङ अनुसार प्रर्याप्त सुरक्षाको आधार जनाउने इक्रा एनपी एलए प्लस प्राप्त गरेको छ ।
बैंकले बफर क्यापिटलको व्यवस्थापनका लागि थप पूँजीको रुपमा ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकले यसअघि पनि ७५ करोड रुपैयाँको एनआईबी बण्ड २०७८ र ५० करोड रुपैयाँको एनआईबी बण्ड २०७६ निष्काशन गरेको थियो ।
सात बर्ष अवधिको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटलले जिम्मा पाएको छ ।