करिव १६ खर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक हुँदै, पूर्वाधार निर्माण प्राथमिकतामा |
काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७६∕७७ को बजेट आज सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाको दिउँसो ४ बजे बस्ने बैठकमा करिब १६ खर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्न लागेका हुन । नेपालको संविधानमै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले दोस्रो पटक बजेट प्रस्तुत गर्न लागेको हो ।
यस वर्षको बजेटमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ । करीब १५ खर्ब बराबरको बजेट ल्याउन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सीमा तोकेको थियो । चालू आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको सरकारले आगामी आर्थिक वर्षको बजेटलाई बढी व्यवहारिक र कार्यान्वयनमुखी बनाउने लक्ष्य राखेको छ । आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढेको सरकारले बजेटमा केही नयाँ र आकर्षक कार्यक्रमसमेत राखेको बुझिएको छ ।
अर्थमन्त्री खतिवडाले यस पटक वितरणमुखी कार्यक्रम राख्दै खुकुलो बजेट ल्याउने तयारी गरेको बताइएको छ । अघिल्लो वर्ष सार्वजनिक गरिएको चालू आर्थिक वर्षको बजेटप्रति सत्तारुढ दलकै सांसदले नै असन्तुष्टि जनाएपछि अर्थमन्त्री डा. खतिवडाले वाम गठबन्धनको घोषणापत्रको वरिपरि रहने गरी बजेट सार्वजनिक गर्न लागेको स्रोतले जनाएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता र कर्मचारी तलव वृद्धि हुने बताइएको छ । केही उत्पादनलाई अनुदान, युवाका नाममा राजनीतिक कार्यक्रम, कृषि तथा स्वदेशी उद्योग भन्दै अनुदानलगायतका वितरणमुखी कार्यक्रम बजेटमा घोषणा हुने बताइएको छ ।
अर्थमन्त्रालय स्रोतले बजेटको आकार १६ खर्ब हाराहारी हुने जनाएको छ । यो बजेटका लागि १० खर्ब राजस्व उठाउने लक्ष्य राखिँदै छ । बाँकी रकम वैदेशिक सहायता तथा ऋण, आन्तरिक ऋण र यस वर्ष खर्च नभएर बसेको रकमबाट जुटाउने घोषणा अर्थमन्त्रीले गर्ने तयारी गरेका छन् ।
राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सुरुमा १४ खर्ब ९३ अर्ब रुपैयाँभित्र रही बजेट ल्याउन सक्ने सीमा तोकेको थियो । तर, बजेट सार्वजनिक गर्नु एक दिनअघि हिजो बसेको बैठकले १५ खर्ब ७७ अर्ब रुपैयाँसम्मको बजेट ल्याउन पाउने निर्णय भएको बताइएको छ ।
चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बराबरको बजेट प्रस्तुत गरिएको थियो । कूल विनियोजनमध्ये चालूतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख, पूँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख र वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।