असार १५ सम्ममा पाइपलाइनबाट तेल आउने |
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पाइपलाइनको काम अन्तिम चरणमा पुगेको छ । पाइपलाइनको काम अब १० दिनभित्रमा सकिने मोतिहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाका प्रबन्धक प्रदीपकुमार यादवले बताएका छन् । नेपालको वीरगन्ज–अमलेखगन्ज खण्डमा अब २ किलोमिटर मात्र पाइप बिछ्याउन वाँकी रहेकोे उनले बताए ।
असारको दोस्रो साता सम्ममा पेट्रोलियम पदार्थ ल्याउने गरी तीव्र रूपमा काम भइरहेको छ । ‘अब १० दिन भित्रमा वाँकी २ किलोमिटर पाइप बिछ्याउने काम सकिन्छ । असारको दोस्रो सातामा पेट्रोल पठाउने भारतीय आयल कर्पोरेशनको योजना छ ।’ यादवले भने ।
यो खण्डका ६ हजार ९ सय ५३ वटा रूख कटान गरिसकेको छ । थोरै रूख पन्छ्याएर पाइप विच्छ्याउन वाँकी छ । जेठ महिनामा पाइप लाइनको काम सकि हाइड्रो टेस्ट, पाइप सफा गर्ने लगायतको काम हुने उनले जानकारी दिएका छन् ।
अमलेखगन्ज डिपोमा पाइप लाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की छन्। ती ४१ लाख किलोलिटर क्षमताका दुई वटा र ३९ लाख किलोलिटर क्षमताका छन् । ती मध्ये तीन वटा ट्याङ्कीको मर्मतसम्भार र पाइप फेर्ने काम सकिएको परियोजनाका प्रबन्धक यादवले जानकारी दिए ।
पाइपलाइनबाट प्रतिघण्टा ३ सय किलोलिटर पेट्रोलियम पदार्थ आउने अनुमान गरिएको छ । यसरी पेट्रोलियम पदार्थ भित्रिएपछि निगमको वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने अनुमान छ ।
यो परियोजनाका लागि भारतीय आयल कर्पोरेशनले भारू २ सय करोड अनुदान दिएको छ । नेपाल तर्फबाट ७५ करोड लगानी गर्ने निगमले जानकारी दिएको छ । नेपालको ७५ करोड अहिले खर्च भएको छैन। यो रकम ४ हजार केएल क्षमताको पेट्रोलियम भण्डारण, ट्यांकर लोडिङको संरचना लगायत अन्य क्षेत्रमा खर्च गरिने निगमको भनाइ छ ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा निर्माणाधीन आयोजना अनुसार भारतको मोतिहारीबाट ६९.५ किलोमिटर लम्बाइको ३२.२५ किलोमिटर भारतमा र ३७.५ किलोमिटर नेपालमा पर्दछ ।
मोतिहारी–रक्सौल खण्डमा भने पाइप लाइन पूरा भई परीक्षणसमेत भइसकेको छ । गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका थिए । त्यसपछि जमिनमुनि पाइप बिछ्याउने काम शुरु भएको हो ।