प्रभु बैंकले १० लाख कित्ता ऋणपत्र जारी गर्ने, वार्षिक १० प्रतिशत ब्याजदर |
काठमाडौं । प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र विक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । वाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई विक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘१०५ प्रभु बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा विक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।
पछिल्लो समय बैंकहरुले अतिरित्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४० प्रतिशत ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ । तर ऋणपत्रमा सर्वसाधारणको चासो भने निकै कम देखिएको छ ।