पाँच स्थानमा नयाँ औद्योगिक क्षेत्र स्थापना हुँदै |
काठमाडौं । सरकारले देशका विभिन्न थप पाँच स्थानमा औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सर्लाहीमा मूर्तियार औद्योगिक क्षेत्र, तनहुँमा सिन्टुटार औद्योगिक क्षेत्र, दाङमा लक्ष्मीपुर औद्योगिक क्षेत्र स्थापना गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव पठाउन लागेको हो ।
मन्त्रालयले कैलालीको लम्की र दैलेखको डुंंगेश्वर औद्योगिक क्षेत्र स्थापना गर्ने प्रस्ताव तयार पारेको छ । मन्त्रिपरिषद्ले उक्त प्रस्ताव पारित गरेपछि औद्योगिक क्षेत्र घोषणा गरिने मन्त्रालयको तयारी छ ।
यसअघि सरकारले २० वर्षभित्र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने रणनीति अघि सारेको थियो । सातै प्रदेशमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्नको लागि विस्तृत अध्ययन (डीपीआर) शुरु गरेको थियो । सरकारले प्रादेशिक सन्तुलन कायम गर्न सबै प्रदेशमा एकरएक वटा औद्योगिक क्षेत्र स्थापना गर्ने लागेको हो ।
देशलाई आत्मनिर्भर बनाउँदै बढ्दो व्यापारघाटालाई न्यूनीकरण गर्न तथा युवा जनशक्तिलाई स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्न औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको उद्योग सचिव यामकुमारी खतिवडाले बताइन् । यसका साथै सरकारले मध्यपहाडी लोकमार्गमा पर्ने १० शहरमा पनि औद्योगिक ग्राम स्थापनाका लागि अध्ययन गरिरहेको छ ।
सरकारले ६० वर्षपछि औद्योगिक क्षेत्र स्थापना प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको हो । २०१६ सालमा बालाजु औद्योगिक क्षेत्र स्थापनायता हाल मुलुकमा ११ वटा औद्योगिक क्षेत्र सञ्चालनमा छन् । नेपालमा उद्योग व्यवसायको विकास र व्यवस्थापन गर्न विभिन्न क्षेत्रमा ११ वटा औद्योगिक क्षेत्र स्थापना भएका छन् । यी औद्योगिक क्षेत्रले ५ हजार ६ सय रोपनी जग्गा ओगटेका छन् ।
नयाँ औद्योगिक क्षेत्र निर्माणसँगै सरकारले काठमाडौं उपत्यकामा सञ्चालित औद्योगिक क्षेत्रलाई उपत्यकाबाहिर सार्ने घोषणा गरेको थियो । यो योजना अघि सारेको दुई वर्ष बितिसक्दा पनि योजना अघि बढ्न सकेको छैन । संविधान निर्माणपछि केपी ओलीको नेतृत्वमा बनेको सरकारले ल्याएको बजेटमा समावेश गरिएको यो योजना ओली पुनः प्रधानमन्त्री बनेको यतिका समयसम्म पनि यो योजना अघि बढ्न सकेको छैन ।