दिव्यश्वरी हाइड्रोपावरको नोक्सानी झनै बढ्यो, प्रतिशेयर नेटवर्थ ५५ रुपैयाँ मात्रै |
काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड ६ लाख खुद नोक्सानी बेहोरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत विक्रीको आम्दानी बढेपनि हाइड्रोपावरको खुद नोक्सानी गत वर्षको यसै अवधिको तुलनामा ३.५९ प्रतिशत बढेको हो ।
गत आवको यसै अवधिमा हाइड्रोपावरले एक करोड ९९ लाख रुपैयाँ बराबरको खुद नोक्सानी बेहोरेको थियो । विद्युत विक्री मार्फतको आम्दानी बढेपनि ह्रासकट्टी खर्च र वित्तीय खर्च बढ्दा कम्पनीको खुद नोक्सानी बढेको हो ।
गत आवको यसै अवधिमा ४ लाख ५८ हजार ह्रासकट्टी शिर्षकमा खर्च गरेको हाइड्रोपावरको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उक्त खर्च बढेर २ करोड ३३ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी वित्तीय खर्च ५६.९५ प्रतिशतले बढेर ३ करोड ४५ लाखबाट ५ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा हाइड्रोपावरले विद्युत विक्री मार्फत ६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १०७.६९ प्रतिशतले धेरै हो । गत वर्ष हाइड्रोपावरले विद्युत विक्री मार्फत् ३ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ रहेको हाइड्रोपावरको जगेडा कोष तथा सञ्चित नोक्सानी ११ करोड ८८ लाख रुपैयाँले ऋणात्मक रहेको छ । गत वर्षको यसै अवधिमा हाइड्रोपावरको जगेडा कोष ५ करोड २३ लाख रुपैयाँले ऋणात्मक थियो ।
प्रतिशेयर आम्दानी १० रुपैयाँ ४२ पैसा नोक्सानीमा रहेको हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ ५५ रुपैयाँ छ ।