नेपाल फर्किए खड्क बहादुर, मृतकका परिवारलाई ६१ लाख बुझाए |

युएई । हत्याको आरोपमा विगत पाँच वर्ष देखि युएईको आबुधावी स्थित अल वातब जेलमा कैदी जीवन बिताई रहेका फेदाप–२ तेह्रथुमका खड्क बहादुर जोगी ६१ लाख बुझाएर नेपाल फर्किएका छन् ।
युएईको अदालतको फैसला अनुसार मृतकका परिवारलाई २ लाख दिराम अर्थात् करिब ६१ लाख रुपैयाँँ क्षतिपूर्ति बापत ब्लडमनि (दिया रकम) बुझाए सगै कानुनी प्रक्रिया पूरा गरि उनी गत बिहिवार नेपाल फर्किएका आबुधावी स्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
उनले ब्लडमनि (दिया रकम) गत अप्रिलमा दूतावास आबुधावी मार्फत अदालतमा बुझाएका थिए । उनलाई गत हप्ता देखि आबुधावीको डिपोर्टेसन सेन्टरमा राखिएको थियो । आवश्यक ट्राभल डकुमेन्ट अर्थात् (यात्रा अनुमति पत्र) गत आइतबार नै दूतावास आबुधावीमार्फत सम्बन्धित निकायलाई बुझाइएको थियो ।
आबुधाबीको एक कम्पनीमा सामान्य मजदुरको काम गरिरहेका जोगी आफ्नै कम्पनीको साथीलाई बचाउन खोज्दा फसेको उनको परिवारहरूले बताउदै आएका थिए । सन् २०१४ मे ६ मा जोगी चढेको गाडीबाट आफ्नै सहकर्मी फिलिपिनो नागरिक अचानक खसेको र निजलाई उद्दार गरि अस्पताल पुर्याउने क्रममा मृत्यु भएको परिवारको भनाई छ ।
सहकर्मीको निधनलगतै जोगीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका थालेको थियो । उनले अदालतमा मानवीयताका आधारमा सहयोग मात्रै गरेको बयान दिएका थिए । तर जोगीलाई युएईको अदालतले हत्याको गरेको आरोपमा ५ वर्ष कैद र २ लाख दिराम अर्थात् करिब (६१ लाख रुपैयाँ) मृतक फिलिपिनो नागरिकको परिवारलाई ब्लडमनि (दिया रकम) बुझाउनु पर्नै फैसला सुनाएको थियो ।
उनको उद्दारको लागि देब बास्कोटाको नेतृत्वमा विभिन्न मुलुकाका दाताहरु मार्फत ६१ लाख ९४ हजार रुपैया संकलन गरिएको थियो । उत्त रकम गत मार्चमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको उपस्थिति र यूएईका लागि नवनियुक्त्त राजदुत कृष्णप्रसाद ढकाल, नियोग उप(प्रमुख सागरप्रसाद फुयाँललाई मार्फत परराष्ट्र मन्त्रालयमा बुझाइएको थियो ।