यस्ता छन् बाथरूमका लागि फङ्गशुईका उपाय |
जीवनमा सुख तथा शान्ति सबैको चाहना हो । यसका लागि मानिसले केही न केही प्रयास अवश्य गरिरहेका हुन्छन् । विभिन्न दर्शन, संस्कार वा चालचलनले मानिसलाई सुख, समृद्धि हासिल हुने बाटाहरू बताएको पाइन्छ । वास्तुशास्त्रले घरभित्र वा वरपरका संरचनाले यसमा भूमिका निर्वाह गर्ने बताएको छ भने फङ्गशुइको मान्यता पनि यससँग निकै नजिक छ । फङ्शुईका अनुसार जीवनमा सुख तथा शान्ति ल्याउन पानी र यो रहने स्थान महŒवपूर्ण हुन्छ । यस हिसाबले घरमा पानीको मुख्य स्थान बाथरूम नै हुन्छ । उक्त मान्यताअनुसार घरमा सुख, ऐश्वर्य ल्याउन र नकारात्मक प्रभाव पर्न नदिन बाथरूमको व्यवस्थापन यस्तो हुनुपर्छ ː
ऐना
बाथरूममा यस्तो स्थानको छनोट गरेर ऐना राख्नुपर्छ, जसलाई हेर्नेबित्तिकै सकारात्मक शक्ति मिलोस् । त्यसका लागि ऐनामा पानी देखिनुपर्ने हुन्छ । पानी देखिएन भने नकारात्मक शक्तिले प्रवेश पाउँछ । बाथरूममा राखिएको ऐनाको नियमित सफाइ पनि गर्नु आवश्यक छ ।
शेष तत्व
फङ्गशुईको मान्यताअनुसार पूर्ण लाभ लिनका लागि बाथरूममा हावा, पानी तथा जमीनका तत्वको सम्मिश्रण गर्नुपर्ने हुन्छ । यसको व्यवस्था गर्न खासै गाह्रो पनि छैन । आफ्नो बाथरूममा एउटा फूलको गमला राखिदिनुहोस् । यसबाट तपाईंले त्यस गमलाको माटो देखिरहनुहुनेछ । बाथरूममा हावाको सञ्चार पनि राम्रो हुनुपर्छ ।
फोहोरा सकारात्मक शक्तिको भण्डार
हामीले विभिन्न पार्कमा पानीको फोहोरा भएको त देखेकै छौं । यसले मानिसलाई आकर्षित पनि गरिरहेको हुन्छ । यसो हुनुको मुख्य कारण फोहोराबाट प्रवाह हुने सकारात्मक ऊर्जा नै हो । त्यसैले, यस्तो फोहोराको व्यवस्था बाथरूममा पनि गर्नुहोस् । नुहाउँदा, मुख धुँदा वा पानीको अन्य प्रयोजनमा सो फोहोराको प्रयोग गर्नु श्रेयस्कर हुनेछ ।
प्रकाश
प्रकाश समृद्धिको प्रतीक मानिन्छ । ढोका तथा झ्यालबाट बाथरूमभित्र प्रकाश आउन दिनुपर्छ । बाथरूममा नुहाउँदा यो झनै आवश्यक हुन्छ । बाथरूमका झ्यालहरू सधैं खुला राख्नुपर्छ । साथै, रातिको समयमा बाथरूम प्रयोग गर्दा झ्यालमा मैनबत्ती बाल्नाले आनन्द र सकारात्मकताको वृद्धि हुन्छ ।
क्रिष्टल बल राख्नुहोस्
घरलाई पूर्णरूपमा सन्तुलित राख्नका लागि बाथरूममा क्रिष्टल बल राख्नुहोस् । क्रिष्टल बलले त्यहाँको सबै नकारात्मक प्रभाव हटाउँछ । साथै, यसले बाथरूमको सौन्दर्यसमेत बढाउँछ । यसलाई बाथरूमको बीच भागमा झुन्ड्याएर राख्नु राम्रो हुन्छ ।
सधैं सफा राख्नुहोस्
हामी स्वभावैले सफासुग्घर मन पराउँछौं । बाथरूमको सफाइ स्वास्थ्यसँग मात्र सम्बन्धित छैन । फङ्शुईका अनुसार बाथरूम भान्छाजत्तिकै सफा हुनु आवश्यक छ । बाथरूममा प्रवेश हुने हावाको स्वच्छताका लागि पनि सबै भाग र प्रयोग गर्ने सामग्रीहरू सफा हुनुपर्छ । फोहोर बाथरूमले नकारात्मकता, अनिष्टता र आलस्य बढाउने फङ्शुईको मान्यता छ ।