राष्ट्रपतिद्वारा लुम्बिनी भ्रमणवर्षको शुभारम्भ, लुम्बिनी घुम्न निम्तो |
काठमाडौं । लुम्बिनी भ्रमण वर्ष २०७६ को औपचारिकरुपमा शुभारम्भ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गरेकी छिन् ।
उनले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनीमा घुम्न आउन समेत निमन्त्रणा गरेकी छिन् । लुम्बिनीको विकासले प्रदेश नं ५ लाई समृद्ध बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले लुम्बिनीलाई विश्वशान्तिको केन्द्र बनाउन लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताइन ।
स्थानीयवासीको सहयोग र सहकार्यलाई सँगै लिएर अघि बढ्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले गुरुयोजना छिटो पूरा गर्न लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराएका छिन । बुद्धस्थललाई जोडेर आन्तरिक पर्यटकिय परिपथ र बाह्य मुलुकसँग जोडेर वृहत पर्यटकिय परिपथ निर्माण गर्न सकिने भएकाले सरकारलाई ध्यान दिन आग्रह गरेकी छिन । उनले बुद्धपूर्णिमालाई वैशाख दिवसका रुपमा विश्वभर मनाउने वातावरणका लागि पहल गरेकामा सरकारलाई धन्यवाद समेत दिएकी छन ।
लुम्बिनी क्षेत्रलाई विश्वस्तरको शैक्षिक केन्द्रको रुपमा प्रवद्र्धन गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले लुम्बिनी क्षेत्रमा शान्ति, स्थिरताकायम गर्दै जानुपर्ने बताइन ।