शिवम् सिमेन्टको नाफा एक अर्ब ५ करोड, १३.०९ प्रतिशतले नाफा बढ्यो |
काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक बर्षको नौ महिनामा एक अर्ब पाँच करोड रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले गत बर्षको भन्दा १३.०९ प्रतिशतले नाफा बढाएको हो । गत वर्ष कम्पनीले ९३ करोड ६६ लाख रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीले चैत मसान्तसम्ममा ८ अर्ब ३७ करोड रुपैयाँको सिमेन्ट विक्री गरेको छ । गत वर्ष ७ अर्ब १० करोड रुपैयाँको सिमेन्ट बेचेको थियो । विक्री खर्च भने ५ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।
कम्पनीले आयोजना निर्माणका लागि चार अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको थियो । सहायक कम्पनीहरुमा शिवमको लगानी तीन अर्ब ३६ करोड रुपैयाँ रहेको छ । कम्पनीले नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सीमा लगानी गरेको छ ।
कम्पनीले यसै वर्ष सर्वसाधारणको लागि थप प्रिमियम सहित शेयर निष्काशन गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी चार अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा प्रिमियम बापत ९४ करोड दुई लाख रुपैयाँ जम्मा गरेको छ । त्यस्तै जगेडा कोषमा नाफाबाट तीन अर्ब ४५ करोड रुपैयाँ रकम जम्मा भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ छ ।