प्राइम बैंकको वार्षिक साधारणसभा जेठ २६ गते, १६ प्रतिशत बोनस शेयर दिने |
काठमाडौं । प्राइम बैंकले जेठ २६ गते एघारौं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले साधारणसभामा यस अगाडि घोषणा गरेको १६ प्रतिशत बोनस शेयरको प्रस्ताव लैजाने भएको छ ।
बैंकले संस्थापकतर्फबाट तीनजना र सर्वसाधारणबाट दुई जना संचालकको निर्वाचन, मनोनयन वा नियुक्त गर्ने प्रस्ताव साधारणसभामा पेश गर्दै छ । बैंकले अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सन्दर्भमा आवश्यक प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ । बैंकले यस अगाडि ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सहमति गरेर कुरा नमिल्दा मर्जर प्रक्रिया नै भाँडिएको थियो ।
बैंकको प्रस्ताव गरेको बोनस शेयर पश्चात चुक्ता पूँजी ९ अर्ब ३१ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब तीन करोड रुपैयाँ छ । बैंकले एक अर्ब २८ करोड रुपैयाँ बोनस शेयरबाट पूँजी थप्ने भएको हो । वर्तमान अधिकृत पूँजी १० अर्ब रुपैयाँलाई बढाएर २२ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव अगाडि सारिएको छ ।
बैंकले साधारणसभा प्रयोजनका लागि जेठ ९ गतेदेखि बुक क्लोज गर्ने भएको छ । जेठ ८ गतेसम्म कायम शेयरधनीहरुले बोनस शेयर पाउनुकासाथै साधारणसभामा भाग लिन सक्ने छन् ।