विदेशबाट फर्किएकालाई एनएमबी बैंकबाट १० लाखसम्म ऋण |

काठमाडौं । राष्ट्रिय युवा परिषद, एनएमबी बैंक लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालबीच वैदेशिक रोजगारबाट फिर्ता भएका व्यक्तिलाई लक्षित गरी नेपालको मौलिक पहिचान, कृषि, पर्यटन, वन, जडिबुटी, खनिज तथा जलस्रोत र विज्ञान तथा प्रविधि क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने र युवा उद्यमशीलता प्रवद्र्घन गर्ने उद्देश्यका साथ त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
तीनै पक्षको सहकार्यमा अर्थ मन्त्रालयको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि,२०७५ कार्यान्वयनमा सहयोग पुर्याउने र उद्यमशीलताका माध्यमबाट युवालाई उत्पादनसँग जोडी रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्ने योजना रहेको छ ।
सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ बमोजिम योग्य रहेका वैदेशिक रोजगारबाट फिर्ता भएका व्यक्तिलाई राष्ट्रिय युवा परिषद्को समन्वयमा रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसका आधारमा बैंकले प्रतिव्यक्ति अधिकतम १० लाखसम्म परियोजना धितोमा कर्जा प्रवाह गर्ने गरी हाललाई १ अर्बसम्म ऋण प्रवाह गर्ने र माग र आवश्यकताको आधारमा बढाउँदै लाने गरी त्रिपक्षीय सम्झौता गरिएको हो ।
त्यसैगरी वैदेशिक रोजगारबाट फिर्ता भएका व्यक्तिलाई सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ भित्र नपर्ने कर्जाहरुको हकमा समेत बैंकले त्रिपक्षीय संझौता बमोजिम कर्जा प्रवाह गर्नेछ । सोका अलाबा बैंकले त्यस्ता सम्भावित ऋणीलाई परियोजना सञ्चालनका लागि सुझाव तथा सल्लाह प्रदान गर्ने, आवश्यक तालिमको व्यवस्था गर्ने, त्यस्ता यूवालाई लक्षित गरी निक्षेप तथा कर्जाका प्रोडक्टहरु बनाउने र बजारको पहुँचलाई सहजीकरण गराउनेतर्फ केन्द्रीयस्तरमा एक छुट्टै डेस्कको स्थापना गरी बैंकका शाखाहरुमार्फत सेवा प्रदान गरिने छ ।
विदेशमा छरिएर रहेका युवा जनशक्ति स्वदेशमै फर्किन प्रेरित गर्ने र त्यहाँ आर्जित सीपलाई आफ्नै देशमा सदुपयोग गरी रोजगारी सिर्जना गराउँदै देशलाई समृद्घितर्फ उन्मुख गराउन मद्दत पुग्ने तीनै पक्षको धारणा रहेको छ ।