विष्णुको ‘जमाना जाली छ’ नर्बेबाट छिट्टै सार्वजनिक गरिदै |
काठमाडौँ । खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ विष्णु क्षत्रीले १२ घण्टा काममा खटिएरै पनि आफ्नो सांगीतिक यात्रालाई सँगसँगै अगाडि बढाएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा हाल यूरोपको नर्बेमा बस्दै आएका उनले छिट्टै नै आफ्नो तेस्रो म्युजिक भिडियोको रूपमा ‘जमाना जाली छ’ बजारमा ल्याउन लागेका हुन् । उनले उक्त म्युजिक भिडियोको निर्माण पनि अन्तिम चरणमा रहेको जानकारी दिए। हाल उक्त म्युजिक भिडियोको अडियोको काम सकाएर हाल भिजुअलको काम भइरहेको उनले बताए ।
चितवन स्थायी घर भएका उनी झण्डै १३ वर्षदेखि रोजगारीको सिलसिलामा छोरा, छोरी र श्रीमतीका साथ यूरोपमा बस्दै आएका छन्। छिट्टै नै बजारमा आउन लागेको उनको पछिल्लो म्युजिक भिडियोको निर्माण एनटूएन प्रोडक्सन (नर्बे)ले गरेको छ । उक्त म्यूजिक भिडियोको क्यामेरा डाइरेक्सन गणेश सुनुवार र संगीत योगेश काजीको रहेको छ । त्यस्तै, गीत रचना श्वेता मैनाली (अष्ट्रेलिया) को रहेको छ। यस म्युजिक भिडियोमा गायककार क्षत्रीका सुमधुर स्वरले भरिएका पाँचवटा पपगीत समेटिएका छन् ।
भोकल र शास्त्रीय संगीत ‘बुद्ध कला केन्द्र पुतलीसडक’ मा गुरु कैलाश राईबाट सिकेका उनी सन् २०११ मा आफ्नो पहिलो एल्बम ‘सुशेली (लोकपप, आधुनिक पप र लभ सङ्ग) निकालेसँगै नेपाली सांगीतक क्षेत्रमा प्रवेश गरेका हुन् । त्यसैगरी उनले दोस्रो म्युजिक भिडियो ‘जय नेपाल’ सन् २०१३ मा निर्माण गरे । उक्त म्युजिक भिडियो विकासा टीभीले बजारमा ल्याएको हो । उक्त म्युजिक भिडियोमा ‘देउरालीको डाँडापारि’, ‘को होला त्यो सुशेली हाली बोलाउने’ बोलका गीतहरू समेटिएका छन् ।
गायक क्षत्रीले पपगीतका अलावा साइबाबाका विभिन्न भजनहरू पनि गाउने गरेका थिए । हाल यूरोपियन मुलुकहरूमा विभिन्न नेपाली सामाजिक संस्थाहरूले आयोजना गर्ने नेपाली सांगीतिक कार्यक्रमहरूमा प्रायः नछुट्ने क्षत्री आफ्नो प्रस्तुति प्रस्तुत गर्ने क्रममा यूरोपका स्वीट्जरल्याण्ड, पोर्चुगल, नर्बे, फ्रान्स, बेल्जियमलगायत झण्डै ६÷७ मुलुक पुगिसकेका छन् । आफ्नो प्रस्तुतिकै कारण दर्शकदीर्घाबाट पाएको मायाको प्रतिफल नै आफ्नो तेस्रो म्युजिक भिडियो भएको उनी नहिच्किचाइन सुनाउँछन् ।