१० खर्बको आयात हुँदा ६९ अर्बको निर्यात, ११ भन्सार कार्यालयबाट निर्यात शून्य |
काठमाडौं । भन्सार विभागले हालै सार्वजनिक गरेको नौ महीनाको विवरणमा २३ भन्सार कार्यालयमध्ये ११ वटा भन्सार कार्यालयबाट कुनै पनि माल निर्यात भएको छैन । ती भन्सार कार्यालयबाट कुनै पनि प्रकारको निर्यात नभई शून्य अवस्थामा रहेको पाइएको हो ।
विभागका अनुसार जलेश्वर, सुथौली, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर, महेशपुर, सिरहा, राजविराज, टाँडी र सेती भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा कुनै पनि सरसामग्री निर्यात नभएको पाइएको छ ।
राजश्व सङ्कलनका लागि भन्दै सरकारले जनशक्ति एवं साधान र स्रोत उपलब्ध गराएको भए पनि निर्यात हुन नसकेको पाइएको छ । ती भन्सार कार्यालयमध्ये टाँडी र सेती भन्सार कार्यालयबाट आयातसमेत नभएको पाइएको छ । यस्तै गौर भन्सार कार्यालयबाट पनि शून्य
विभागका अनुसार वीरगञ्ज भन्सार कार्यालयबाट आयात र निर्यातको मात्रा बढी छ । वीरगञ्ज भन्सार कार्यालयबाट तीन खर्ब ६७ अर्ब बराबरको आयात भएको छ । प्रतिशतका आधारमा सो भन्सार कार्यालयबाट ३४.५६ प्रतिशत सामान आयात भएको छ । उक्त भन्सार कार्यालयबाट १४ अर्ब ४९ करोड बराबरको निर्यात भएको छ ।
दोस्रो स्थानमा भैरहवा भन्सार कार्यालय रहेको छ । सो भन्सार कार्यालयले रु। एक खर्ब ७८ अर्ब ९६ करोड ८३ लाख चार हजार बराबरको सरसामान आयात भएको छ । प्रतिशतका आधारमा १६.८६ प्रतिशत सामान सो भन्सार कार्यालयबाट आयात भएको छ । चालू आवको नौ महीनाको अवधिमा भैरहवा भन्सारबाट रु दुई अर्ब ७३ करोड ४१ लाख २२ हजार बराबरको सामान निर्यात भएको छ । विराटनगर भन्सार कार्यालय हुादै एक खर्ब ३१ अर्ब बराबरको आयात हुँदा करीब २१ अर्ब बराबरको निर्यात भएको विभागले जानकारी दिएको छ ।
चालू आवको नौ महीनाको अवधिमा १० खर्ब ६१ अर्ब ६१ करोड १२ लाख चार हजार बराबरको माल वस्तु आयात हुँदा ६९ अर्ब ८२ करोड २३ लाख ४८ हजार बराबरको मात्रै निर्यात भएको छ ।