रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण गर्न सम्झौता, एक महिनापछि निर्माणको काम शुरु हुने |
काठमाडौं । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रसुवामा सुख्खा बन्दरगाहा निर्माण हुने भएको छ । आइतबार निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीका तर्फबाट प्रोजेक्ट मेनेजर याङ र नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरेकृष्ण मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपालस्थित चीन सरकारको कन्सुलर कार्यालयका प्रतिनिधीहरुको उपस्थिति थियो । चीनले यो बन्दरगाह निर्माणका लागि तिब्बत फुली कन्स्ट्रक्सन ग्रुप कम्पनीलाई छनौंट गरेको छ । चिनियाँ युआन १२ करोड ४० लाखको लागतमा रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण हुने भएको हो । करिब ५ हेक्टर क्षेत्रफलमा निर्माण हुने छ । उक्त बन्दरगाहमा ३ सय ५० ठूला ट्रकहरु पार्किङ्ग गर्न सकिने गरी करिब ५ हजार वर्गमिटरको ५ तले सीमा जांचपास भवन, ७५० वमिको पार्किङ, २०८० वमिको २ वटा जांचपास कक्ष, कार्गो गोदाम, लिटिगेशन गोदाम रहने छ ।
सो बन्दरगाह निर्माणका लागि आवश्यक जग्गा नेपाल सरकारले व्यवस्थापन गरिसकेको छ भने कम्पनीसँग सम्झौता समेत भईसकेको छ । उक्त बन्दरगाह निर्माण कार्य शुुरु गरेको मितिले साढे २ बर्षमा सम्पन्न हुने छ । उक्त बन्दरगाहको डिजाइन चिनियाँ आर्किटेक्चरल रिकनिसियन्स एण्ड डिजाइन इन्स्टिच्युट अफ तिबत अटोनोमस रिजनले तयार गरेको थियो ।
चीन सरकारको सहयोगमा निर्माण हुन लागेको सो बन्दरगाह उत्तरी नाकामा दोश्रो हो । हालै मात्र सिन्धुपाल्चोकको लार्चामा चीन सरकारले तातोपानी सुख्खा बन्दरगाहको निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न तयारीमा रहेको छ । मुलुकका उत्तरी नाकामा निर्मित सुख्खा बन्दरगाहहरुले नेपाल र चीनबीच हुने अन्तरराष्ट्रिय व्यापारमा कोशेढुंगाको काम गर्नेछ ।