एभरेष्ट इस्योरेन्सको ३०० प्रतिशत हकप्रद जेठ १४ गतेदेखि |
काठमाडौं । एभरेष्ट इस्योरेन्स कम्पनीले आगामी जेठ १४ गतेदेखि कायम चुक्ता पूँजीको ३०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले वैशाख ८ गतेसम्म कायम शेयरधनीहरुको लागि एक कित्ता बराबर तीन कित्ताको अनुपातमा हपक्रद शेयर निष्काशन गर्ने छ ।
कम्पनीका शेयरधनीहरुले असार १६ गतेसम्म हकप्रद शेयरका लागि आवदेन दिन पाउनेछन् । कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद शेयर निष्काशन गरेसँगै चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले यस अगाडि चुक्ता पूँजीको १०५ प्रतिशत संस्थापक हकप्रद शेयर निष्काशन गरेर संस्थापकतर्फ ५१.२२ प्रतिशत र सर्वसाधारण तर्फ ४८.७८ प्रतिशतको शेयर संरचना बनाएको थियो ।
बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको लागि एक अर्ब रुपैयाँ पूँजी पुर्याउन निर्देशन दिएसँगै कम्पनीले ६०० प्रतिशत हकप्रद शेयर निष्काशनको घोषणा गरेको थियो ।
नेपाल धितोपत्र बोर्डले कम्पनी ऐन र बीमा ऐन अनुसार संस्थापक र सर्वसाधारण शेयर धनीको संचरना नभएको भन्दै हकप्रद शेयर निष्काशनका लागि रोक लगाएको थियो । बोर्डले निर्देशन बमोजिम कम्पनीले हकप्रद मार्फत संस्थापक शेयरधनी कायम गरेको हो ।
संस्थाको हालको चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ छ । हकप्रद निष्काशनसँगै बीमा समितिले निर्देशन गरेको न्युनतम चुक्ता पूँजी जुटाउने छ । हकप्रद शेयर निष्काशनका लागि गरेको क्रेडिट रेटिङमा कम्पनीले औषतभन्दा तलको प्रतिफल दिने सूचक ‘केयर एनपी आईपीओ ग्रेड चार’ प्राप्त गरेको छ ।
हकप्रद शेयरका लागि एभरेष्ट इन्स्योरेन्स कम्पनीका सम्पुर्ण शाखा कार्यालयहरु, सिद्धार्थ क्यापिटल नक्सान र नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइने छ ।