रसुवागढीमा सुख्खा बन्दरगाहको काम एक महिनामै शुरु हुने, यस्तो छ बन्दरगाहको विशेषता |
काठमाडौं । उत्तरी नाका रसुवागढीमा सुक्खा बन्दरगाह निर्माणको काम एक महिनाभित्रै शुरु हुने भएको छ । निर्माणको जिम्मा पाएको तिब्बत फुली कन्स्ट्रक्सनका प्रतिनिधी सहितको टोली सम्झौता (इप्लिमेन्टेसन माइन्युट) गर्न गत साता नेपाल आएको थियो ।
सम्झौता गरेको एक महिनापछि काम शुरु गर्ने तयारी थियो । नेपाल इन्टरमोडल यातायात विकास समितिले अर्थ मन्त्रीसंग स्वीकृति मागेपनि अर्थले समय लगाएपछि चिनियाँहरु फर्किएका छन् ।
चिनियाँहरुको ढिलाईका कारण असोजबाट शुरु गर्ने भनिएको बन्दरगाहको काम बल्ल शुरु हुने भएको हो । अर्थले केही दिनभित्रै स्वीकृति दिनेछ । चिनियाँ कम्पनीसँग सम्झौता भएपछि कम्पनीले क्याम्प राखेर काम शुरु गर्ने छ ।
चिनियाँ लगानीमा चिनियाँ पक्षले नै निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्न द्धिपक्षीय सम्झौता भएको छ । समन्वय, सहजीकरण,सुरक्षा लगायतको प्रबन्ध नेपाली पक्षले गरिदिनुपर्ने छ । निर्माणको अनुगमन पनि सरकारले नै गर्नुपर्ने छ । २०७५ माघ १ गते चीनको छेन्दुमा ड्राईपोर्टको डिजाईनमा द्धिपक्षीय सम्झौता भएको थियो ।
बन्दरगाहको डिजाईन तयार भएर निर्माण कम्पनी समेत छनोट भैसकेको छ । दुई चरणमा बन्दरगाह निर्माण गर्ने योजना छ । डिजाईन अनुसारको संरचना पहिलो चरणमा तयार पारिनेछ ।
रसुवाको गोसाईकुण्ड गाउँपालिकाको टिमुरेमा बन्ने बन्दरगाहका लागि आवश्यक जग्गा अधिग्रहण गरिसकेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय,सरकारी, सामुदायिक गरि साढे आठ हेक्टर जग्गा अधिग्रहण गरिएको समितिले जनाएको छ ।
बन्दरगाहमा पार्किङस्थल गोदाम घर, प्रशासनिक भवन जाँचपास स्थल, भन्सार, क्वारेन्टाईन, बैंक, अध्यागमन,ल्याब रहनेछ । बन्दरगाहमा पाँच हजार वर्गमिटरको पाँचतले मुख्य प्रशासनिक भवन रहनेछ ।
यहिँ भवन कार्यालयहरु रहनेछन् । सात सय पचास वर्गमिटरमा गोदाम निर्माण हुनेछ । ८० वर्ग मिटरका दुईवटा जाँचपास निर्माण हुनेछन् । बन्दरगाहमा ३ सय ५० मालवाहक गाडी पार्किङ गर्न सकिने गरि निर्माण गर्न लागिएको छ । निर्माण शुरु गरेको तीस महिनामा सक्ने लक्ष्य राखिएको छ ।
चीनले आफ्नो भुभागतिर सुक्खा बन्दरगाह धमाधम निर्माण गरिरहेको छ । रसुवागढी नाकाबाट करिव ३० किमी दुरीमा केरुङमाथि पाङसिङमा आधुनिक बन्दरगाह निर्माण गरिरहेको छ ।
भुकम्पका कारण तातोपानी नाकाबन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट सामान आयात तथा निर्यात हुँदै आएको छ ।