स्वाभिमान र जनसेवीले ६ करोड ६१ लाख कित्ता आईपीओ निष्काशन गर्दै, १० कित्ता आवेदन दिन पाइने |
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था र जनसेवी लघुवित्त वित्तीय संस्थाले वैशाख २७ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएका छन् ।
दुवै संस्थाले पहिलो चरणमा वैशाख ३१ गतेसम्म आईपीओ निष्काशन गर्ने छन् । पहिलो चरणमा शेयर विक्री नभएमा ढिलोमा जेठ २६ गतेसम्म निष्काशन गर्नेछन् । स्वाभिमानले सर्वसाधारण तर्फको एक लाख ९८ हजार ६१० कित्ता र जनसेवीले चार लाख ६३ हजार ३०० कित्ता आइपिओ निष्काशन गर्ने भएका हुन् ।
स्वाभिमानले ३ हजार ९३ कित्ता कर्मचारीहरुको लागि, ९ हजार ९३० कित्ता सामुहिक लगानीकोषका लागि सुरक्षित गरेर बाँकी रहेको एक लाख ८५ हजार ५८७ कित्ता सर्वसाधारणको निष्काशन गर्नेछ। संस्थाले प्राथमिक शेयर निष्काशन गरेसँगै संस्थापक तर्फको चुक्ता पूँजी चार करोड २० लाख र सर्वसाधारण तर्फको एक करोड ९८ लाख सहित जम्मा ६ करोड १८ लाख रुपैयाँ पुग्नेछ।
सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मको लागि आवदेन दिन सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।
जनसेवीले ७ हजार १४५ कित्ता कर्मचारीहरुको लागि र २३ हजार १६५ कित्ता सामुहिक लगानीकोषका लागि सुरक्षित गरेर वाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सर्वसाधारणको लागि विक्री गर्ने भएको हो । सर्वसाधारणले न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
संस्थाले प्राथमिक शेयर निष्काशन गरेसँगै संस्थापकतर्फ ९ करोड ८० लाख र सर्वसाधारण समुहतर्फ चार करोड ६३ लाख रुपैयाँ सहित जम्मा १४ करोड ४३ लाख रुपैयाँ पुग्नेछ । जनसेवीले प्राथमिक शेयर निष्काशनका लागि क्रेडिट रेटिङ गर्दा औसत भन्दा तलको आधार जनाउने ‘इक्रा एनपी आईपीओ ग्रेड चार’ प्राप्त गरेको छ ।
आस्वा सुविधाका लागि अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरमा खाता खोलेकाले अनलाइनबाटै आवेदन दिन सक्नेछन् ।