रोडिजसँगै यामाहा एफजी राइडरहरु लोमान्थाङ लागे |
काठमाडौं । काठमाडौंस्थित यामाहाको कर्पोरेट कार्यालयबाट ‘यामाहा एफजी राइड ह्विथ रोडिज टु लोमान्थाङ’को औपचारिक सुरुवात (फ्ल्याग अफ) भएको छ । नेपालमै पहिलोपटक भएको यो रोमाञ्चक मोटरसाइकल यात्रामा १३ जना एफजी राइडरले आफ्ना यामाहा एफजीमा विश्वकै कठोर भौगोलिक क्षेत्र र अग्ला हिमाली सडकबाट परिचित अपर मुस्ताङसम्म नौ दिन यात्रा गरेर १३ सय किलोमिटर पार गर्नेछन् । उनीहरुको हौसला बढाउन ‘द हिमालयन रोडिज्’का जजद्वय रेमनदास श्रेष्ठ र दिया मास्के र दोस्रो सिजनका विजेता आयुष श्रेष्ठ पनि यात्रामा सहभागी हुने भएका छन् ।
यामाहाको साहसिक यात्राको ‘फ्ल्याग अफ’ एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका सीईओ चिरञ्जीवी शाहले गरेका हुन् । यामाहाले विगतमा पनि नियमित रुपमा राइड आउटको आयोजना गर्दै आएको छ । तर राइड ह्विथ रोडिज् हालसम्मकै ठूलो राइड आउट हुनेछ । यामाहाका राइडरहरुसँग बलियो सम्बन्ध गाँस्नु हाम्रो एउटै मात्र चाहना हो,’ ‘फ्ल्याग अफ’ सेरेमनीमा राइडरहरुलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भने ।
‘यामाहाका मोटरसाइकलले सुरक्षा र कम्फोर्टमा कुनै सम्झौता नगरी राइडिङ थ्रिलको अनुभूति दिलाउँछ । हामीलाई आशा छ, यो यात्राले सहभागी एफजी राइडरलाई लाईफ टाइम एक्सपिरियन्स दिनेछ र आफूहरुबीच पनि अद्वितीय भातृत्वको विकास गराउनेछ ।’ उनले अगाडि भने ।
देशका विभिन्न स्थानमा गरिएको अडिसनबाट छानिएका राइडरहरुले भौगोलिक विकटता र खराब मौसम भएका स्थानको यात्रा मात्र गर्ने छैनन् । हिमाली क्षेत्रको सुन्दरता र सांस्कृतिक विविधताको पनि अवलोकन गर्नेछन् । एफजीको टोलीमा भर्खरै नेपालमा सार्वजनिक भएको यामाहा एफजी एस एफआई भी३.० पनि सहभागी हुनेछ । यो फ्युल इन्जेक्सन प्रविधि र एबीएस भएको सेग्मेन्टकै पहिलो मोटरसाइकल हो ।