पुनर्निर्माणका लागि १ खर्ब ५६ अर्ब रुपैयाँको बजेट स्वीकृत |
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले आगामी आर्थिक वर्षमा पुनर्निर्माण तथा पुनस्र्थापनाका कार्यहरु गर्न १ खर्ब ५६ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ ।
बैठकमा प्राधिकरणले पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी पञ्च वर्षीय योजनाको कार्यान्वयनका लागि यसअघि निर्धारित कूल रु. ९ खर्ब ३८ अर्ब बराबरको वित्तीय आवश्यकतालाई पुनरावलोकन गरी नेपाल सरकारको बजेटरी प्रणालीबाट नेपाल सरकार एवं दातृ निकायको स्रोत समेत गरी कुल रु. ६ खर्ब ३० अर्ब बराबरको वित्तीय स्रोत परिचालन गर्ने प्रस्ताव जानकारी गराएको थियो ।
बैठकमा प्रस्तुत वित्तीय योजनाको खाकालाई आधार मानी आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने निर्णय भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पुनर्निर्माणको कार्य तीव्र रुपमा भइरहेको बताउँदै वाँकी काम पनि राम्रो गर्न निर्देशन दिए ।
अर्थमन्त्री डा. युवराज खतिवडाले पुनर्निर्माण र पुनस्र्थापनाका कार्यहरुका लागि आवश्यक पर्ने थप बजेट व्यवस्थापन गर्न विभिन्न दातृ निकायहरुसँग परामर्श अघि बढाएको र उनीहरु सकारात्मक रहेको जानकारी दिए ।
नेपाल सरकारमार्फत पुनर्निर्माण तथा पुनस्र्थापनामा चालू आर्थिक वर्षको संशोधित अनुमान सहित रु।२ खर्ब ९१ अर्ब रुपैयाँ खर्च हुनेछ । त्यसअतिरिक्त विभिन्न गैरसरकारी संस्थाहरु एवं निजी क्षेत्रहरुबाट पुनर्निर्माण तथा पुनस्र्थापनाका कार्यहरु भइरहेका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण कार्यले गति लिएको भन्दै बाँकी कार्य सम्पन्न हुने अवधि बजेट परिचालनमा भर पर्ने बताए ।
‘प्राधिकरणको कार्यकाल अब २० महिना वाँकी छ । सो अवधिमा पुनर्निर्माणका मूलभूत कार्यहरु सक्नेछौं । तर राज्यको बजेटको सीमालाई विशेष ध्यानमा राखेर हामीले समग्र पुनर्निर्माण तथा पुनस्र्थापना कार्यका लागि बजेट प्रस्ताव पेश गरेका छौं’ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने ।