लक्ष्मी मोटर कर्पोरेशनले पनि गाडी एसेम्बल्ड गर्ने, वार्षिक ८ हजार गाडी उत्पादन हुने |
काठमाडौं । स्वदेशमै गाडी उत्पादनका लागि लक्ष्मी मोटर कर्पोरेशनले उद्योग दर्ता गरेको छ । ५ अर्ब १० करोड रुपैयाँ लगानीमा स्वदेशमै एसेम्बल्ड प्लान्ट स्थापना गर्ने उदेश्यसहित उद्योग दर्ता भएको हो । लक्ष्मी मोटर लक्ष्मी समूह अन्तर्गतको कम्पनी हो । यो समूह अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल हुण्डाई गाडीको नेपालको अधिकृत विक्रेता हो ।
लगानी बोर्डबाट कोरियाली कम्पनी मोट्रेक्सले एसेम्बल्ड प्लान्ट राख्न विदेशी लगानी स्वीकृति गराएपछि यो समूहले गाडी एसेम्बल्डका लागि उद्योग दर्ता गरेको हो । मोट्रेक्सले सात वर्ष अर्को कुनै कम्पनीलाई एसेम्बल्ड प्लान्ट राख्न नदिने शर्त राखेपछि विदेशी ब्राण्डका गाडी विक्री गर्ने कम्पनीले एसेम्बल्ड प्लान्टको प्रकृया अघि बढाएका हुन् ।
नेपालमा सुजुकीपछि प्यासेन्जर भेहिकलमा सबैभन्दा बढी हुण्डाईको गाडी विक्री हुन्छ । कम्पनीका अनुसार वार्षिक रुपमा हुण्डाईको गाडी चार हजार विक्री हुँदै आएको छ । संचालक निराकार श्रेष्ठ रहेको यो कम्पनी गत वैशाख ८ गते दर्ता भएको छ । उद्योगको चुक्ता पूँजी २ अर्ब १३ करोड रुपैयाँ छ ।
उद्योग नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ६ मा राख्ने उल्लेख छ । उद्योगबाट वार्षिक ८ हजार गाडी उत्पादन गर्ने लक्ष्य राखिएको छ । शत् प्रतिशत स्वदेशी लगानीमा स्थापना हुने उद्योगमा ४ सय ४० जनाले रोजगारी पाउने उल्लेख छ । कम्पनीका संचालक निराकारले प्रारम्भिक चरणमा एसेम्बल्ड उद्योगका लागि कम्पनी दर्ता गरेको बताए ।
‘हामीले एसेम्बल्ड प्लान्टका लागि प्रारम्भिक चरणको प्रकृया अघि बढाएका हौं । उद्योग दर्ता गरेर हामी पनि गाडी उत्पादन गर्न तयार छौं भन्ने जानकारी दिएका छौं । तर एसेम्बल्ड प्लान्टका लागि सरकारले समेत विशेष प्राथमिकता दिनुपर्छ’ उनले भने, ’एसेम्बल्ड प्लान्टका लागि राजस्व लगायतका सहुलियत चाहिन्छ । विदेशबाट आउने गाडी र यहाँ बन्ने गाडीमा भन्सार अन्तर फरक नभए उत्पादन लागतनै धान्न सक्दैन । सरकारले नै एसेम्बल्ड प्लान्टका बारेमा स्पस्ट हुन आवश्यक छ ।’
महिन्द्राले पनि राख्ने
महिन्द्रा गाडीको नेपालको आधिकारिक विक्रेता अग्नि समूहले पनि एसेम्बल्ड प्लान्ट नेपालमा स्थापना गर्ने योजना बनाएको छ ।
राजनीतिक संक्रमणको अन्त्यसँगै स्वदेशमै एसेम्बल्ड प्लान्ट स्थापनाको सोच बनाएको यो समूहले नीतिगत स्थिरतानै खोजिरहेको छ । महिन्द्राले समेत औपचारिक रुपमै एसेम्बल्ड प्लान्ट स्थापनाका लागि सकारात्मक छ ।
महिन्द्राले एसयुभी सेग्मेन्टमा सबैभन्दा बढी गाडी विक्री हुन्छ । महिन्द्राको स्कोर्पियो र बोलेरो गाडी धेरै विक्री हुनेमा पर्छ । स्रोतका अनुसार कम्पनीले पहाडी क्षेत्रमा प्रयोग हुने बोलेरो गाडी नेपालमै एसेम्बल्ड गरेर योजना अघि बढाउन चाहेको छ ।
नेपालमा दुई पाँग्रे र चार पाँग्रे सवारी साधन एसेम्बल्ड भएर उत्पादन भइसकेका छन्। तर ती एसेम्बल्ड प्लान्ट सफल भने भएका छैनन् ।
सुरुमा चिनियाँ ब्राण्ड कस्मिक इङयाङ् बाइक नेपालमै उत्पादन भएर विक्री वितरण भएको थियो । तर आर्थिक रुपमा यो बाइकले भारतीय ब्राण्डसँग प्रतिस्पर्धा गर्न नसकेपछि बन्द भयो । त्यसपछि हुलास मोटर्सले गाडीको एसेम्बल्ड प्लान्ट विराटनगरमा स्थापना गर्यो । यो उद्योगबाट मुस्ताङ ब्राण्डका गाडी उत्पादन भएपनि बजारीकरणको अभावमा धेरै समय चल्न सकेन ।
डेढ वर्षदेखि बजाजका बाइक नेपालमै एसेम्बल्ड हुन थालेका छन् । गोल्छा अर्गनाइजेशनले नवलपरासीको रामग्राममा स्थापना गरेको एसेम्बल्ड प्लान्टबाट डिस्कभर बाइक उत्पादन भएर विक्री वितरण भइसकेको छ । तर नेपालमै उत्पादन भएका बाइकले प्रतिस्पर्धा गर्न सकेका छैनन् ।