आगामी आवमा हजार मेगावाट विद्युत प्रशारण लाइनमा थपिने, ठूला आयोजनामा जनताको लगानी |
काठमाडौं । सरकारले आगामी वर्ष एक हजार मेगावाट विद्युत प्रशारण लाइनमा थप्ने योजना घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सकारले माथिल्लो तामाकोशीबाट आगामी बर्षभित्र विद्युत उत्पादन गर्ने बताएको छ ।
आगामी वर्षभित्र ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने योजना सरकारको छ । सरकारले ठूला जलविद्युत आयोजनाहरुमा नागरिकको लगानीलाई प्राथमिकता दिने भएको छ ।
प्राथमिकतामा रहेका ठूला आयोजनाहरुमा नागरिकको लगानी आहृवान गरिनेछ । निर्माणाधीन अवस्थामा रहेका ठूला जलविद्युत आयोजनाहरु समयमा नै निर्माण सम्पन्न गराउन सरकार अग्रसर रहेको नीति तथा कार्यक्रममा सार्वजनिक गरेको छ ।
यसका साथै प्रतिव्यक्ति विद्युत खपत आगामी ५ वर्षभित्र ७ सय किलोवाट प्रतिघण्टा पुर्याइने योजना सार्वजनिक गरिएको छ । यो एक वर्षको अवधिभित्रमा विद्युत खपत प्रतिव्यक्ति ९० मेगावाट पुगेको थियो ।
त्यस्तै सरकारले जलविद्युतमा जनताको लगानी कार्यक्रमअन्तर्गत ३ हजार ५ सय विद्युत उत्पादन गरिने बताइएको छ ।
‘नेपालको पानी, जनताको लगानी’ भन्ने नाराका साथ तीन हजार ५०० मेगावाट विद्युत उत्पादन गरिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत फागुन २ गतेदेखि नै सो कार्यक्रम शुरु गरिसकेको छ ।
सबै नेपालीलाई स्वच्छ ऊर्जा पु¥याउन सरकारका तर्फबाट प्रभावकारी कार्यक्रम अगाडि सारिने भएको छ । सरकारको नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माण गरी थप सहज बनाउने सरकारको लक्ष्य रहेको छ ।