सिमेन्ट उद्योग निर्यातयोग्य बनाइने |
काठमाडौं । सरकारले नीति तथा कार्यक्रममा सिमेन्टलाई प्रमुख निर्यातयोग्य उद्योग बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सिमेन्टलाई प्रमुख निर्यातयोग्य वस्तु बनाउने घोषणा गरेकी हुन् ।
सिमेन्ट उद्योगको मूल्यमा फरक पार्ने मूख्य कम्पोनेन्ट चुनढुंगा, विजुली, कोइला र ढुवानी हो । औद्योगिक क्षेत्रले पाउँदै आएको विजुली भारतमा भन्दा नेपालमा महँगो रहेको उद्योगीहरु बताउँछन्। त्योसँगै दक्षिण अफ्रिकाबाट कोइला ल््याउनुपर्ने भएकाले त्यसले समेत सिमेन्ट उत्पादन भारतभन्दा महँगो पर्छ ।
उद्योगीहरुका अनुसार तत्कालै नेपाली सिमेन्ट उद्योग निकासीको सम्भावना छैंन । भारत भन्दा नेपाली सिमेन्ट अझैपनि बोरामा सय रुपैयाँ महँगो छ । नेपाली सिमेन्ट महँगो हुनुमा विजुली, कोइला र ढुवानीको लागत मूख्य विषय छ ।
मुलुकभित्र सरकारी र निजी क्षेत्र गरेर करिब १ सय १३ उद्योग दर्ता छन्।् । उद्योग विभागका अनुसार दर्तामध्ये झण्डै ६५ वटा उद्योग संचालनमा छ । सिमेन्ट उद्योगमा दुई खर्ब भन्दा बढी लगानी भइसकेको छ ।
सिमेन्ट उद्योगलाई पूर्ण आत्मनिर्भर बनाउने नीति अनुसार भारतबाट आयात हुने क्लिंकरमा भन्सार महशुल वृद्धि गरिएको छ । चिनियाँ लगानीको होङसी शिवम सिमेन्ट संचालनमा आएपछि भारतबाट क्लिंकर आयात कम भएको छ ।