काठमाडौं महानगर र नेपाल एम्बुलेन्स सेवाबीच सहकार्य |
काठमाडौं । काठमाडौं महानगर र नेपाल एम्बुलेन्स सेवाबीच अस्पताल पूर्वको आकस्मिक स्वास्थ्य सेवा तथा व्यवस्थापन (प्रि हस्पिटल केयर) का लागि सहकार्य भएको छ । आइतबार काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जित आचार्यले सम्झैता पत्रमा हस्ताक्षर गरेका छन् ।
महानगरले नेपाल एम्बुलेन्स सेवासँग ५ वर्षका लागि सम्झौता गरेको हो । उद्योगी, व्यवसायी, गैरसरकारी संस्था लगायतको सहयोगमा सञ्चालन हुँदै आएको एम्बुलेन्स सेवामा महानगरले सञ्चालन खर्च प्रदान गर्ने भएको छ । सम्झैता बमोजिम महानगरले एम्बुलेन्स सेवालाई मासिक १२ लाख रकम प्रदान गर्ने भएको छ । साथै ७० वर्ष भन्दा माथि उमेर भएका जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिका लागि निशुल्क सेवा प्रदान गरिने भएको छ । विपन्न गरिब र बेसहारालाई वडा कार्यलयको शिफारिसमा निːशुल्क सेवा प्रदान गरिनेछ ।
नेपाल एम्बुलेन्स सेवाको हाल १० वटा एम्बुलेन्स सञ्चालनमा रहेको छ । काठमाडौं उपत्यका लगायत चितवन, पोखरा र बुटवलमा पनि यो सेवा २४सै घण्टा फोन नं. १०२ मा सम्पर्क गरि प्राप्त गर्न सकिन्छ ।
नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जित आचार्यले भने, “विगत ९ वर्षमा आजसम्म ३६ हजार ५ सय जना व्यक्तिहरुलाई हामीले सेवा पुर्याई सकेका छौं र ४७ शिशुको जन्म पनि एम्बुलेन्स भित्र भएको छ । यो सहकार्यले हामीलाई नेपालभरि आफ्नो सेवा विस्तार गर्न र अझ स्तरीय सेवा जनतासम्म पु¥याउन थप हौसला मिलेको छ ।”
काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले भने, “यो सम्झौता महानगरबासीका लागि ऐतिहासिक दिन हो । यो हरेक नागरिकको जीवनसँग जोडिएकाले यस सेवालाई स्तरीय बनाउनुपर्छ । सम्झौतामा हामीले ७० वर्ष नाघेका जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिले निशुल्क सेवा प्रदान गर्नेछौँ र विपन्न गरिब तथा बेसाहाराले पनि वडा कार्यलयको शिफारिसमा निशुल्क सेवा लिन सक्नेछन् ।”
नेपाल एम्बुलेन्स सर्भिस गैर नाफामुलक संस्था हो, जसले काठमाडौं उपत्यका, बुटवल र चितवनमा हस्पिटल पुग्नु पुर्व बिरामीलाई आकस्मिक उपचार प्रदान गर्दै आईरहेको छ । नेपाल एम्बुलेन्स सर्भिसले २४सै घण्टा आकस्मिक उपचारका लागि तीन अंक रहेको १०२ टोल फ्रि नम्बर संचालन गरिरहेको छ । जसले सिधै नास कल सेन्टरमा सूचना प्राप्त हुन्छ र नजिकमा रहेका एम्बुलेन्सलाई भीएचएफ रेडियोद्वारा तत्काल परिचालन गर्दछ ।
अत्याधुनिक उपकरण ,अत्याधुनिक उपचार बिधि र आकस्मिक स्वास्थ्यकर्मी (इमर्जेन्सी मेडिकल टेक्निसियन–इएमटी) साथमा उपलब्ध भएकोले गर्दा हस्पिटल पुग्नु भन्दा पहिला नै एम्बुलेन्स भित्र अत्यावश्यक चिकित्सा सेवा प्रदान गरिन्छ । नासको लक्ष्य भनेको व्यक्तिगत बिरामीहरुका लागि आकस्मिक स्वास्थ्यकर्मी सहितको द्रूत एम्बुलेन्सहरु, उपचारको सुनिश्चितता गर्नका लागि पूर्ण सुविधा र आवश्यक अस्पतालहरुबीच समन्वय सेवा परिचालन गर्नु हो ।
नासका आकस्मिक मेडिकल प्राविधिकहरुलाई अमेरिकाको स्ट्याण्डफोर्ड यूनिभर्सिटी स्कूल अफ मेडिसिनका विज्ञहरुद्वारा तालिम प्रदान गरिएको छ । निकट भविष्यमा संस्थाले देशभरी नै सेवा संचालन गर्ने लक्ष्य लिएको छ ।