आयल निगमले पम्पको लाइसेन्स खोल्यो, यस्तो छ मापदण्ड |
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल पम्पको लाइसेन्स खुला गरेको छ । पेट्रोल पम्प संचालन सम्वन्धी विक्रेता विनियमावली संशोधन गरेर नयाँ पम्पका लागि लाइसेन्स खुला गरिएको छ ।
विक्रेतामा नियुक्त हुन चाहने फर्म, कम्पनी र संगठित संस्थाले निगमको विक्रेता विनियमावली २०७५ को परिच्छेद (२ विनियम (४) बमोजिम दुई महिना (६० दिन) भित्र आवेदन दिन सकिन्छ । सोही विनियमावलीको विनियम ५ बमोजिम निगमको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली २०७५ को अनुसुची १ बमोजिमको ढाँचामा निगमको कार्यालयहरुमा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ ।
निगमले पूराना केही विकृतिहरुलाई सुधारेर नयाँ नियम बनाइएको जानकारी दिएको छ । प्रक्रिया र मापदण्ड पूरा गरेर पम्प संचालन गर्न चाहनेले आवेदन दिन सक्ने नेपाल आयल निगमले जानकारी दिएको छ । नमुना पम्प संचालन गर्नका लागि एक वर्षभित्र आवेदन दिन सकिने छ भने सामान्य पम्पका लागि हरेक तीन बर्षमा खुल्ला गरिनेछ । योसँगै पूराना व्यवसायीको सिन्डिकेट तोडिएको छ ।
निगमका अनुसार साधरण विक्रेता र पेट्रोल विक्रेता वीचको विक्री स्थलको दुरी कम्तीमा ३ सय मिटरको दुरीमा हुनुपर्नेछ । तर पुर्व पश्चिम राजमार्गको हकमा भने उक्त दुरी पाँच सय मिटर बाहिर हुनुपर्नेछ । प्याक्ट विक्रेताको हकमा नमुना पम्प विक्रेताको विक्री स्थलभन्दा कम्तीमा पाँच किमी बाहिर हुनुपर्छ । एउटा नमुना पम्प विक्रेताको विक्रीस्थलबाट अर्को पम्पको दुरी १० किलोमिटर र उक्त स्थलमा मट्टितेल विक्रेता बाहेक अन्य कुनै विक्रेतालाई नियुक्ती नदिने नयाँ मापदण्डमा उल्लेख छ । तर नमूना पम्प विक्रेताले प्रमाणपत्र पाउनुअघि स्थापना भएका विक्रेताहरुको हकमा भने यस्तो व्यवस्था लागु नहुने निगमले जनायो । नमुना पम्प निगमले करिव दुई बर्ष अघि परिकल्पना गरेको थियो। नमूना पम्पका लागि तराई र मधेशमा एक विघा जमीन हुनुपर्ने प्रावधान छ । हिमाल र पहाडमा ५ रोपनी हुनुपर्नेछ । यो पम्प २४ सै घण्टा संचालन गर्नुपर्नेछ । पुरानो डिस्पेन्सिङ मेसिन जडान गर्न नपाइने निगमले जानकारी दिएको छ ।
विक्रेताको प्रस्तावित विक्रीस्थल नेपालको अन्तरराष्ट्रिय सीमाबाट कम्तीमा दुई किमीको सडक दुरीभन्दा पर हुनुपर्ने छ । सीमा नाकाबाट पेट्रोलियम पदार्थ तस्करी हुन सक्ने खतरालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको छ ।
विनियम १६ (क) बमोजिमको पूर्व पश्चिम राजमार्गको हकमा ३ हजार ३ सय वर्ग मिटर वा १० कठ्ठा र राजमार्ग तर्फको मोहडा ५० मिटरको हुनुपर्ने प्रावधान छ । राजमार्ग र अन्य सडक तथा स्थानहरुको लागि भिन्न भिन्न मापदण्ड तोकिएको छ । काठमाडौं र ललितपुर हकमा कम्तीमा ७ सय ५० वर्ग मिटर वा ४ कठ्ठा वा एक रोपनी ८ आना हुनुपर्ने प्रावधान छ ।