चिनको ग्रेट हल अफ द पिपुलमा राष्ट्रपति भण्डारीलाई भव्य स्वागत |
बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिनमा भब्य स्वागत गरिएको छ । चीन सरकारले सोमबार दिउँसो बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा जनमुक्ति सेनाबाट परेडका साथ सलामी अर्पण गरेको छ ।
ग्रेट हलमा चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए । दुबै देशको राष्ट्रियगानसहित जनमुक्ति सेनाको सलामीपछि राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच द्वीपक्षीय कुराकानीसमेत भयो ।
राष्ट्रपति भण्डारी र सीवीचको भेटमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीको पनि सहभागिता थियो । भेटमा नेपाली भ्रमण टोलीमा रहेका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायतको पनि सहभागिता थियो ।
दुईपक्षीय भेटमा चिनियाँ राष्ट्रपतिले समकक्षी भण्डारीलाई बीआरआई सम्मेलनमा व्यक्त सम्वोधनका लागि धन्यवाद ज्ञापन गरे । साथै राष्ट्रपति सीले नेपाल–चीन हिमाल र नदीले जोडिएको बताए । साथै उनले नेपालको विकास प्रक्रियामा सहयोग गर्न चीन तयार रहेको बताए ।
गत शुक्रबार र शनिबार बेइजिङमा आयोजित दोस्रो बीआरआई फोरममा भाग लिने राष्ट्रपति भण्डारी चीन आएकी हुन् ।