उत्पादन क्षेत्रको ब्याजदर एकल अंकमा झार्न र बजेटमा पुनː कर्जाको सिमा बढाउन व्यवसायीको सुझाव |
काठमाडौं । उद्योगी व्यवसायीहरुले उत्पादन क्षेत्रमा प्रवाह गर्ने कर्जाको ब्याजदर एकल अंकमा कायम गर्नुपर्ने सुझाब दिएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको आगामी आर्थिक बर्षको पूर्व बजेट छलफल कार्यक्रममा उनीहरुले पुनː कर्जाको सिमा बढाउन माग समेत गरेका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पुनː कर्जाको सिमा एक अर्बबाट बढाएर २ अर्ब पुर्याउन माग गरेका छन् । बुधबार नेपाल राष्ट्र बैंकले आगामि बजेटका लागि सुझाव कार्यक्रममा बोल्दै गोल्छाले पुनːकर्जाको समयअवधि पनि बढाएर यसलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन् ।
अहिले १ अर्बमाथिको ऋणमा सहवित्तीयकरणमा जानु पर्ने ब्यवस्थाले खर्च बढेको बताउँदै यसलाई २ अर्ब पुर्याउन सुझाब दिएका हुन् । उनले क्रेडिट रेटिङ गराइसकेको कम्पनीलाई पर्सनल ग्यारेन्टी नखोज्ने ब्यवस्था गर्न समेत माग गरेका छन् ।
अहिले १ अर्बमाथिको ऋणमा सहवित्तीयकरणमा जानु पर्ने ब्यवस्थाले खर्च बढेकोले अब यसलाई २ अर्ब पुर्याउनु पर्ने उनको भनाई थियो । त्यस्तै उनले क्रेडिट रेटिङ गराइसकेको कम्पनीलाई पर्सनल ग्यारेन्टी राख्ने ब्यवस्था खारेज गर्न माग गरेका छन् ।
त्यस्तै, कार्यक्रममा बोल्दै उनले ‘कस्ट अफ डुइङ बिजिनेस’ घटाउन केही सुझाब दिएका छन् । शेखरका अनुसार, कामदारको उत्पादकत्व बढ्ने गरी कानुन निर्माण हुनुपर्छ । त्यसपछि पूर्वाधारमा सुधार गर्नु पर्छ । जस्तो अहिले भन्सार कार्यालयको पूर्वाधार सानो भइसकेको छ । बाटोघाटोदेखि बिमानस्थलसम्म साँघुरो भइसकेको छ । भन्सारमा १० किलोमिटरको लाइन हुन्छ । यसलाई घटाउनु पर्छ ।
त्यस्तै, बैंकहरुको बेस रेटको सिमालाई अधिकतम ४ प्रतिशतसम्मभन्दा माथि लिन नपाउने ब्यबस्था गर्न उनले सुझाव दिएका छन् । उनले भने, अहिले सबै बैंकको बेस रेट घटेको छ तर कुनै पनि बैंक बेस रेट घटेको छ भनेर भन्ने अबस्थामा छैन ।
सरकारले राखेको आर्थिक वृद्धिको दरलाई हासिल गर्न लगानी आवश्यक पर्ने भएकाले लगानीका लागि पुँजी जरुरी पर्ने र बैंकहरुको ब्याज बढी भएकाले लगानी गर्न नसकेको गोल्छाको तर्क रहेको थियो । उनले भने, ‘सरकारले राखेको आर्थिक वृद्धिको लक्ष भेटाउने गरि लगानी ल्याउन ब्याजदरलाई नियन्त्रण गर्न पनि पर्छ ।’