आयात गरेर राजस्वको लक्ष्य पुरा गर्ने पक्षमा सरकार छैन ː अर्थमन्त्री खतिवडा |
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार आयात गरेर राजस्वको लक्ष्य पुरा गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको प्रि बजेट छलफलमा बोल्दै अर्थमन्त्री खतिवडाले तोकिएको राजश्व लक्ष्य पूरा गर्न जथाभावी आयात नबढाउने बताए ।
डा.खतिवडाका अनुसार सरकार आयातलाई प्रतिस्थापन गर्ने गरी नीति बनाउन लागेको छ । राजस्वको लक्ष्य पुरा गर्ने नाममा जथाभावी आयातलाई खुला गर्न नसकिने गरि सरकारले काम गरिहेको उनको भनाई छ ।
राजस्व लक्ष्य र संकलनमा अन्तर भएको स्वीकार गर्दै अर्थमन्त्री खतिवडाले जथाभावी आयात भने रोकिने जनाउ दिए । निर्यातको पर्वद्वन नगरी उच्च एक अंकको आर्थिक बृद्धिदर हासिल गर्न नसकिने भन्दै उच्च एक अंक र दोहोरो अंकको आर्थिक बृद्धिदरको लागि वस्तु र सेवाको निर्यात जग बलियो बनाउनु पर्ने उनको मत छ ।
नेपालको मात्रै उपभोगले आर्थिक बृद्धि हाँसिल नहुने भन्दै खतिवडा लगानीको वातवरण बनाउन स्वादेशी तथा विदेशी लगानीकर्ताको लागी लगानी मैत्री वातावरण बनाउन जरुरी रहेको बताए ।
पूर्व बजेट छलफल कार्यक्रममा मन्त्री खतिवडाले स्रोतको ठूलो दबाबबाट सरकार गुज्रिरहेको भन्दै त्यसको व्यवस्थापन नै अहिलेको सबैभन्दा ठूलो चुनौती भएको उल्लेख गरे । ‘मौलिक हक स्थापित गर्न जति साधन स्रोत चाहिन्छ, त्यसको व्यवस्थापन अहिलेको सबैभन्दा ठूलो चुनौती हो’, मन्त्री खतिवडाले भने, ‘हामीले बनाएको कानुनले स्रोतमाथि दबाब थपेको छ ।’