काठमाडौं महानगरपालिकाले निजी विद्यालयको भर्ना शुल्क बढायो |
काठमाडौं । अघिल्लो शैक्षिक सत्रसम्म काठमाडौं महानगरभित्रका ‘घ’ वर्गका निजी विद्यालयले कक्षा ९ र १० मा पढ्ने विद्यार्थीसँग बढीमा एक हजार ८ सय ३८ रुपैयाँ लिन पाउँथे । यो शैक्षिक सत्रदेखि भने महानगरपालिकाभित्रका सबैभन्दा खराब विद्यालयले पनि माध्यामिक तहका विद्यार्थीसँग २ हजार ५ सय ३७ रुपैयाँ शुल्क लिन पाउने भएका छन् ।
महानगरपालिकाको विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिको गत फागुन २६ गते बसेको बैठकले निजी विद्यालयले लिने शुल्क बढाउने निर्णय गरेको हो ।
अस्वाभाविकरुपमा बृद्धि गरिएको शुल्कको विषयमा सरोकारावालाले भने विरोध जनाएका छन् । नेपाल अभिभावक संघका अध्यक्ष केशव पुरी महानगरपालिकाले एकतर्फीरुपमा गरेको शुल्कबृद्धि आफूहरूलाई मान्य नभएको बताउँछन् ।
‘क वर्गको विद्यालयको कक्षा १–५ को शुल्क दुई हजार ८१२ भन्नुको अर्थ त्योभन्दा बढी एक रुपैयाँ पनि लिन पाइँदैन भन्ने हो ।’ महानगरपालिकाले क, ख, ग र घ वर्गमा अधिकतम कति–कति शल्क लिन पाइने भनेर शुल्क वृद्धिको सूचि सार्वजनिक गरेको छ । तर, कुन विद्यालय कुन वर्गमा पर्छ भन्ने स्वयम महानगरपालिकालाई नै थाहा छैन ।
काठमाडौं महानगरभित्र ६४५ वटा निजी विद्यालय छन् । घ वर्गका विद्यालयले क वर्गको शुल्क असुली गरे पनि अभिभावक र विद्यार्थीलाई थाहा हुँदैन ।
स्रोतका अनुसार महानगरपालिकाले नयाँ वर्ष लागेपछि विद्यालयहरूलाई कुन वर्गको हो भन्ने छुट्याउन बल्ल फर्म वितरण गरेको छ । त्यो फर्म भरिसकेपछि ४५ बुँदे मापदण्ड अनुसार विद्यालयको वर्गीकरण गरिने स्रोतले जानकारी दियो ।
काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख निर्मला केसी भने हरेक विद्यालयलाई कुन वर्गको हो भन्ने चिठी दिइएको बताउँछिन् । अभिभावकले सम्बन्धित विद्यालय प्रशासनमा सोधेर कुन वर्गको विद्यालय हो भनेर थाहा पाउन सकिने उनको भनाइ छ ।