विश्वको सबैभन्दा ठूलो विमानले गर्यो पहिलो उडान |
विश्वको सबैभन्दा ठूलो विमानले आफ्नो पहिलो उडान गरेको छ । स्ट्रेटोलन्च नामक सो विमानले गतहप्ता क्यालिफोनिर्यामा परीक्षण उडान गरेको हो । पंखाको लम्बाईको आधारमा स्ट्राटोलन्च विश्वको सबैभन्दा ठूलो विमान हो ।
विमानको उडान परीक्षण करीब साढे २ घन्टासम्म मोजावेको मरुभूमीमाथि चलेको थियो । यस क्रममा विमान १७ हजार फीट माथिसम्म उडेको थियो । विमानको गति १७० माइल प्रतिघन्टासम्म पुगेको बताइएको छ ।
यसको निर्माण स्ट्रेटोलन्च नामक कम्पनीले गरेको हो । विमानमा ६ ओटा इञ्जिन रहेका छन् । विमानको पंखाको लम्बाई ३८५ फिट रहेको छ । यो अमेरिकी फुटबल मैदानभन्दा पनि ठूलो भएको बताइएको छ ।
विमानलाई भूउपग्रह प्रक्षेपक अर्थात सेटलाइट लञ्च प्याडको रुपमा विकास गरिएको छ । यो विमानले रकेट र उपग्रहलाई अन्तरिक्षमा पुग्नका लागि सहयोग गर्ने बताइएको छ । विमान जमिनबाट १० किलोमिटरमाथि उडेको बेलामा अन्तरिक्षमा भूउपग्रह प्रक्षेपण गर्न सकिन्छ ।
यदि यो परियोजना सफल भयो भने यसबाट भूउपग्रह प्रक्षेपण सस्तो हुने बताइएको छ । पृथ्वीको अक्षमा पहुँच व्यवसायिक विमान चढेजत्तिकै सजिलो बनाउने उद्देश्यले यो विमानको निर्माण गरिएको बताइएको छ ।
स्ट्रेटोलन्चको स्थापना माइक्रोसफ्टका सह–संस्थापक पाउल एल्लेनले सन् २०११ मा गरेका थिए । बेलायती अर्बपति व्यापारी रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन ग्यालेक्टिकले पनि धेरै माथिबाट रकेट लञ्च गर्न मिल्ने विमान बनाएको छ । एजेन्सी