एक वर्ष भित्र नेपाल टेलिकमको फोरजी सेवा मुलुकभर विस्तार हुने |
काठमाडौं । नेपाल टेलिकमले फोरजी र एलटीई सेवा मुलुकभर विस्तार गर्ने भएको छ । बिहीबार टेलिकमको केन्द्रिय कार्यालय, भद्रकालीमा एक कार्यक्रम आयोजना गरी फोर जी र एलटीई सेवा मुलुकभर सेवा विस्तार गर्ने जानकारी दिएको हो ।
टेलिकमले काठमाडौं र पोखराबाट सन् २०१७ जनवरी १ देखि पहिलो पल्ट फोरजी र एलटीई सेवा शुरु गरेको थियो । देशभर फोरजी र एलटीई विस्तारमा ढिलाई भएको स्वीकार गर्दै सेवा विस्तारले उल्लेख्य प्रगति गरेको प्रबन्ध निर्देशक डिल्लीराज अधिकारीले जानकारी गराए ।
टेलिकमले सातै प्रदेशमा सेवा विस्तारको लागि गत माघ २० गते कोर जेटीई कार्पोरेशन चीन, नेटवर्क आई, नेटवर्क आईआईको लागि सीसीएसआई हङकङ्गसंग सम्झौता गरेको छ ।
सम्झौता अनुसार १२ महिनामा सम्पन्न गर्नको लागि साइट सर्भेको काम शुरु भएको टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले जानकारी गराइन । उनका अनुसार अहिले सम्म साइट सर्भेको काम ६५ प्रतिशत सकिएको छ ।
प्रबन्ध निर्देशक अधिकारीले सन २०२५ सम्म फोरजीबाट पर्याप्त फाइदा लिएर फाइभजीको लागि तयार हुनुपर्ने बताए । अहिले विस्तार गर्न लागेको प्रविधिमै फाइभजी सेवा विस्तार गर्न सकिने उनको भनाई छ । अहिलेको बजारमा फोरजी सेवा नै उपयुक्ता रहेको उनको दाबी छ । फोरजीको विस्तारसंगै टुजी र थ्रीजीलाई पनि विस्तार गरिने टेलिकमले जानकारी दिएको छ ।
यस्तै टेलिकमले चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा ४ सय थ्रीजि वीटीएस र ४०७ वटा वीटीएस थप गरिएको जानकारी दिएको छ ।