लगानी सम्मेलनमा आएका प्रस्तावको मूल्यांकन गर्न संयन्त्र गठन |
काठमाडौं । सरकारले भर्खरै आयोजना गरेको लगानी सम्मेलनमा बिभिन्न कम्पनीहरुले थुप्रै परियोजनाहरु बनउन प्रस्ताव गरेका थिए । यस्तो प्रस्ताव गरेका कम्पनीको मूल्यांकन र अनुगमनका लागि प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुंगानाको अध्यक्षतामा पाँच सदस्यीय संयन्त्र गठन भएकोे छ ।
लगानी बोर्डको विहिबार बसेको बैंठकले यो निर्णय गरेको हो । प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सो संयन्त्रमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा लगानी बोर्ड कार्यालयका एक∕एक जना सहसचिव सदस्य रहने निर्णय भएको छ ।
बैंठकले ती परियोजना अघि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गर्नुका साथै प्रस्तुत गरिएका परियोजनामा इच्छुक विकासकर्ताले प्रस्तावसहितको निवेदन पेश गर्ने मिति एक महिना बढाउने निर्णय समेत गरेको छ । बैंठकमा प्रधानमन्त्री ओलीले सम्मेलन देशको आर्थिक विकासको लागि एक महत्वपूर्ण आधार तथा अवसर भएको समेत बताए ।
उनले सम्मेलनमा प्रस्तुत भएका परियोजनाहरुको लागि लगानीकर्ता छनौंट र कार्यान्वयनको प्रकृया प्राथमिकताका साथ छिटो अघि बढाउन निर्देशन दिए । ओलीले उपत्यकामा सुविधा सम्पन्न अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम पाँच महिनाभित्र सम्पन्न गर्न निर्देशन दिए । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानी सम्मेलनमा प्राप्त भएका परियोजनाका प्रस्तावलाई प्रभावकारी कार्यान्वयनको कार्यदिशाका बारेमा जानकारी गराएका थिए ।