रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीको शेयरका लागि सभामुख र उर्जामन्त्रीले दिए आवेदन |
काठमाडौँ । सरकारले नेपाली जनतालाई जलविद्युत आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ जनताको जलविद्युत कार्यक्रम शुरु गरेको थियो । देशका महत्वपूर्ण पदमा आसिन व्यक्तिले नै सो कार्यक्रममा सहभागी भई जनतालाई सहभागिताका लागि आग्रह गर्नुले पनि त्यसको महत्व बढ्दै गएको छ ।
स्वदेशी लगानीमा नै जलविद्युत आयोजना निर्माण गर्ने र त्यसको प्रतिफलसमेत नेपाली नागरिकलाई नै दिने लक्ष्यका साथ सरकारले शुरु गरेको सो कार्यक्रममा सभामुख कृष्णबहादुर महरासमेत सहभागि भएका छन् । सभामुख महराले बिहीबार ग्लोबल आइएमइ क्यापिटलमा हितग्राही खाता खोलेका छन् । जनताको जलविद्युत कार्यक्रमको दोस्रो चरणमा आजदेखि साधारण शेयर विक्री शुरु भएको रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीको शेयरसमेत सभामुख महराले खरीद गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सभामुख महराले जनताको जलविद्युत कार्यक्रममा सहभागी भई साधारण शेयर खरीद गरेका हुन् ।
पहिलो पटक साधारण शेयर खरीद समारोहमा सहभागी भएका महराले सरकारले नयाँ कार्यक्रम शुरु गरेकोमा खुसी व्यक्त गर्दै दूरदराजका नागरिकलाई समेत सहभागी हुने उपाय खोज्न आग्रह गरे ।
सभामुख महराले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भने, “यो असाध्यै राम्रो कार्यक्रम शुरु गर्नुभयो । सबै नेपाली नागरिकलाई कसरी सहभागी गराउन सकिन्छ भन्ने बारेमा उपयुक्त विधि र विकल्प पनि खोज्नु पर्दछ ।”
सभामुख महराले रसुवागढी जलविद्युत कम्पनीको एक लाख बराबरको एक हजार कित्ता र साञ्जेन जलविद्युत कम्पनीको पचास हजार बराबरको पाँच सय कित्ता साधारण शेयर खरीद गरी शेयर बजारमा प्रवेश गरेका छन् । यस्तै सभामुख महराका धर्मपत्नी सीता महराले पनि रसुवागढीमा एक लाख बराबरको एक हजार कित्ता र साञ्जेनको पचास हजार बराबरको पाँच सय कित्ता बराबरको शेयरमा आवेदन दिएकी छिन् ।
मन्त्री वर्षमान पुनले पनि रसुवागढीमा एक लाख बराबरको एक हजार कित्ता र साञ्जेनमा पचास हजार बराबरको पाँच सय कित्ता साधारण शेयरमा आवेदन दिएका छन् । पूर्वसभामुख ओनसरी घर्तीले पनि रसुवागढीमा एक लाख बराबरको एक हजार कित्ता र साञ्जेनमा ५० हजारको पाँच सय कित्ता साधराण शेयर आवेदन दिएकी छिन् ।
जनताको जलविद्युत कार्यक्रमअन्तर्गत पहिलो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँको धर्मपत्नी राधिका शाक्यले पनि शेयरमा आवेदन दिएका थिए । माथिल्लो त्रिशुली थ्री बीको शेयरमा आवेदन गर्नुभएका प्रधानमन्त्रीले २० कित्ता शेयर प्राप्त गरेका थिए ।