अपर नौगाडले डेढ महीनाभित्रै विद्युत उत्पादन गर्ने |
काठमाडौं । नौगाड गाउँपालिकामा निर्माणाधीन आठ मेगावाट क्षमताको अपर नौगाड दोस्रो जलविद्युत आयोजना उत्पादनको अन्तिम तयारीमा पुगेको छ । अपर नौगाडमा डेढ महीनाभित्रै विद्युत उत्पादनको तयारी भएको छ । गत साउनमा आएको बाढीका कारण झण्डै दुई महीना ढिलो भएको हो ।
अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको अपर नौगाड जलविद्युत दोस्रोको काम अन्तिम चरणमा पुगेको आयोजनाका इन्चार्ज मधुसुदन कोइरालाले बताए । पेनस्टकको अधिकांश काम पूरा भएको र पावरहाउसभित्र मेसिन जडान र सर्जट्याङ्क निर्माणकार्य भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार पहिलो टेस्टिङ एक यो महीनाभित्र हुन्छ, उनले भने, दुवै सञ्चालन गर्न दुई महीना समय लाग्छ । २०७५ साउनमा नौगाड खोलामा आएको बाढीले निर्माणाधीन आयोजनामा ठूलो भौतिक क्षति भएको थियो । आयोजनाका अनुसार बाढीका कारण झण्डै रु. १० करोड बराबरको क्षति भएको छ ।
नौगाड गाउँपालिकाको वडा नं ६ धुलिगडाको कुनेबगडदेखि फलामे पाइपमा पानी लगी सुकेखोलाको पावरहाउसमा खसालिनेछ । पाइपलाइन (पेनस्टक) को लम्बाइ पाँच किलोमिटर छ । विसं २०७३ असोजदेखि निर्माण शुरु भएको अपर नौगाड जलविद्युत आयोजनाको लागत रु. एक अर्ब ४४ करोड रहेको छ ।
अपर नौगाडमा उत्पादन भएको बिजुली शैल्यशिखर नगरपालिकाको वडा नं १ शिखर बलाँचस्थित नेपाल विद्युत प्राधिकरणको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसका लागि नौ किलोमिटर लामो ३३ केभिए प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ ।
अपि पावर कम्पनी लिमिटेडले यसअघि नगरपालिकाको वडा नं २ मा ८ दशमल ५ मेगावाट क्षमताको नौगाड प्रथम जलविद्युत आयोजनाको निर्माण गरेको छ । नौगाड प्रथम जलविद्युत आयोजना १८ महीनामै निर्माण सम्पन्न भएको हो ।