पोखरा अन्तरराष्ट्रिय विमानस्थलको रनवे तीन महिनामै तयार, आयोजना तोकिएभन्दा पहिल्यै सकिने |
काठमाडौं । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गको काम सकिएको छ । यो विमानस्थल नेपालकै पहिलो कंक्रिट धावनमार्ग हो । यो सँगै पोखरा विमानस्थल तोकिएको समयभन्दा पहिले नै निर्माण हुने राष्ट्रिय गौरबको आयोजना बन्ने पक्का भएको छ । अहिले पनि विमानस्थलमा धमाथम काम भइरहेको छ । सन् २०२१ को जुलाइभित्र निर्माण सकिसक्ने लक्ष्य भएपनि अब सन् २०२० भित्रै पोखरा विमानस्थल सञ्चालनमा ल्याइने बताइएको छ ।
२५ सय मिटरको यो रनवेमा ढलान गरिएको छ । अन्य विमानस्थलमा पिच गर्ने गरिएपनि पनि पोखरामा पहिलो पटक रनवेमै ढलान गरिएको हो । यो रनवेमा अबको ३० वर्षसम्म पनि समस्या नआउने दावी गरिएको छ । यो धावनमार्गमा एटीआर ७२, एयरबस ३२० लगायतका जहाज सहजै उडान अवतरण गर्न सक्नेछन् ।
विमानस्थलमा रहेको टर्मिनल विल्डिङको डीपीसीको काम पूरा भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरब आयोजनाका निर्देशक प्रदीप अधिकारीले बताए ।
यो विमानस्थलको टर्मिनल विल्डिङ कंक्रिट हुँदैन्। । अहिले विश्वव्यापी रुपमा प्रचलन रहेको स्टील स्ट्रक्चर हुनेछ । स्टील स्ट्रक्चर चाँडै निर्माण गर्न सकिने र लागत पनि कम लाग्छ । यो विमानस्थलमा टर्मिनल भवनबाट सीधै बोर्डिङ ब्रिजमार्फत जहाज चढ्न सकिनेछ ।
टर्मिनल विल्डिङ बाहेकका फायर विल्डिङ, ह्याङ्गर, प्रशासन भवन लगायत १५ वटा भवन अत्याधुनिक भवन हुनेछ । धावनमार्ग सँगै जहाज पार्किङ एप्रोनको काम पनि सकिसकेको छ ।
२१ अर्ब रुपैयाँ लागत रहेको विमानस्थल निर्माणमा हाल सम्म छ अर्ब रुपैयाँ खर्च भएको छ । आकस्मिक प्रयोगको लागि धावनमार्ग योग्य भइसकेको अधिकारीको भनाई छ । यो विमानस्थलको कार्यप्रगति बुझ्न प्राधिकरणका महानिर्देशक सञ्जीब गौतमसहितको टोली बुधबार पोखरा पुगेको थियो ।