शेयर कारोबारमा प्यान कार्यान्वयन, पहिलो दिन ५६ वटा शेयर कारोबार |
काठमाडौँ । दोस्रो बजारमा अनिवार्य गरिएको स्थायी लेखा नम्बर (प्यान) राखेर सोमबार ५६ वटा शेयर कारोबार भएका छन् । पहिलो दिन ४१ जना लगानीकर्ताले प्यान नम्बर राखेर शेयर कारोबार गरेको नेपाल स्टक एक्सचेन्जले (नेप्से) ले जानकारी दिएको छ ।
पछिल्लो समय पाँच लाख वा त्यो भन्दा बढी मूल्यको शेयर कारोबार दैनिक ७० देखि ११० वटा सम्म हुने गरेको छ । गत आइतबारदेखि बिहीबारसम्म भएको कारोबारको तथ्याङकको आधारमा यस्तो देखिएको हो ।
पहिलो दिन लगानीकर्ताले साढे तीन करोड रुपैयाँ बराबरको प्यान नम्वर राखेर शेयर कारोबार गरेको नेप्सेले जनायो । नेप्सेले सोमवारदेखि शेयर कारोबारमा प्यान अनिवार्य गरेको थियो । एउटा कारोबारमा पाँच लाख वा त्यो भन्दा बढी मूल्यको शेयर कारोबार गर्ने लगानीकर्ताले शेयर कारोबार गर्दा प्यान नम्बर अनिवार्य दाखिला गर्नुपर्ने व्यवस्था छ ।
दोस्रो बजारमा कारोबार गर्ने १४ हजार ५३ लगानीकर्ता सोमबार सम्म प्यानमा दर्ता भएको नेप्सेको भनाइ छ । तीनै लगानीकर्ताहरुले सोमबार शेयर कारोबारमा प्यान नम्वर राखेर कारोबार गरेका हुन् । नेप्सेले प्यान अनिवार्य गर्न कारोबार प्रणालीमै सुधार गरेको छ । शेयर कारोबार गर्ने स्वचालित अनलाइन प्रणालीमै प्यान नम्बर राख्नु पर्ने व्यवस्था गरिएको छ । पाँच लाख वा त्यो भन्दा बढी मूल्यको शेयर कारोबार गर्ने लगानीकर्ताले प्यान नम्बर नराखे प्रणालीलेनै शेयर कारोबार गर्दैन ।