२० करोड प्रयोगकर्ताको डाटा लीक गरेको मामलामा याहूले ११ करोड ७५ लाख डलर तिर्ने |
करिव २० करोड प्रयोगकर्ताहरुको संवेदनशील जानकारी लीक भएको मामलामा सोशल मिडिया कम्पनी याहूले ११ करोड ७५ लाख डलर तिर्नका लागि प्रस्ताव गरेको छ ।
याहूले आफूले गरेको सम्झौता अनुरुप उक्त रकम तिर्नका लागि आफू तयार रहेको भन्दै प्रयोगकर्ताहरु समक्ष प्रस्ताव गरेको हो । याहूले पीडित प्रयोगकर्ताहरुका साथ यस मामलाको समाधानका लागि कानुनी सम्झौता अनुरुप उनीहरुलाई २ वर्षसम्म निːशुल्क क्रेडिट कार्ड मनिटरिङ सेवा उपलब्ध गराउनुका साथै अन्य छुट दिनका लागि पनि प्रस्ताव गरेको हो । याहूले गरेको यस्तै पूरै प्रस्तावको मूल्य ११ करोड ७५ लाख डलर बराबर रहेको बताइएको छ ।
योभन्दा पहिले पनि याहूले गत वर्ष अक्टोबरमा पीडितका साथ सम्झौता गरेको थियो तर क्यालिफोर्नियाको सान जोसे सहरको जिल्ला अदालतले त्यसलाई खारेज गरिदिएसँगै उक्त सम्झौता बीचमा नै रोकिएको थियो । उक्त सम्झौतामा पीडितलाई करिब ५ करोड डलरको क्षतिप्रर्ति दिनुपर्ने थियो । अब त्यहीँ सम्झौतालाई याहूले केही बदलावका साथ पेश गरेको छ ।
खबरका अनुसार, उक्त रकम याहूको हालको स्वामित्व अधिकार राख्ने कम्पनी भेरिजोन र अल्ताबले दिनेछ । यद्यपी उक्त सम्झौतालाई स्वीकृती मिल्न भने वाँकी नै रहेको छ ।
सन् २०१३ देखि २०१४ को बीचमा करिव ३ अर्ब प्रयोगकर्ताहरुको डाटा लीक भएको खबर सार्वजनिक भएको थियो । यसलाई हालसम्मको सबैभन्दा ठूलो डाटा लीकको मामला मानिदै आएको थियो । एजेन्सी