सबै नेपालीको बैंक खाता खोल्ने अभियानको सुरुवात |
काठमाडौं । सबै नेपालीको बैंक खाता अभियान हिजोबाट शुरु भएको छ । नयाँ बर्षको अवशर पारेर सबै नेपालीको बैंक खाता अभियानको सुरुवात प्रधानमन्त्री केपि ओलीले गरेका छन् ।
हरेक नागरिकसम्म बैंकिङ पहुँच पुर्याउने अभियानको मुख्य उद्देश्य हो । अभियानको सुुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अब थैलीको समय गएको टिप्पणी गरे । थैलीको सट्टा चेक र कार्ड प्रयोग गर्न उनले आग्रह गरे ।
सरकारले चालु आर्थिक वर्ष २०७५∕७६ को बजेटमा नै हरेक नागरिकलाई बैंकिङ पहुँचमा ल्याउने बताएको थियो । कर्जा, राजश्व, जरिवाना लगायतका हरेक आर्थिक क्रियाकलाप बैंक खातामार्फत हुने र यसले हरेक नागरिकलाई कर प्रणालीमा सहभागी गराउने प्रक्रिया सहज हुने विश्वास छ ।
तर, ४१ वटा स्थानीय तहमा अझैसम्म बैंक नपुगेको बेला हरेक नागरिकको बैंक खाता बनाउने लक्ष्य भेट्टाउन सरकारलाई त्यति सजिलो छैन । अभियानमा खाता नहुनेहरुलाई समेट्न राष्ट्र बैंकले सहुलियत दिएको छ । केन्द्रीय बैंकले संस्थागत सामाजिक सुरक्षामा छुट्याइएको बजेट यो योजनामा लगाउने पाउने सहुलियत दिएको हो । जसले गर्दा नयाँ खाता खोल्नेले शुरुमै खातामा १०० रुपैयाँ पाउने छन् ।
राष्ट्र बैंकका अनुसार, अहिले बैंक तथा वित्तीय संस्थामा २ करोड ५६ लाख ५८ हजार ३८७ वटा खाता खुलेका छन् । एकै ब्यक्ति तथा संस्थाको दोहोरो र तेहरो पनि खाता खुलेका छन् ।
पुहुँच कम, खाता धेरै
बैंकिङ पहुँच अझै पनि ५० प्रतिशत नागरिकमा पनि पुग्न सकेको छैन । बैंकिङ पहुँचको अवस्था कम भएकै कारण सरकारले यस अभियान सञ्चालनमा ल्याएको हो ।
तर, कति बैंक खाता खोलिएका छन् भन्ने तथ्यांक हेर्ने हो भने चकित पार्ने छ । हाल २ करोड ६८ लाख बैंक खाता खोलिएका छन् । यो संख्या नेपालको कुल जनसंख्या भन्दा बढी हो ।
शहरमा बस्नेहरुले एकै व्यक्तिले एक भन्दा बढी खाता खोल्ने भएकाले जनसंख्या भन्दा धेरै पुगेको हो । अभियान पछि साढे ३ करोडदेखि ४ करोडसम्म बैंक खाताको संख्या पुग्ने बताइन्छ ।