मुख्य पर्यटकीय गन्तब्यमा आन्तरिक पर्यटक खचाखच, पोखरामा होटलको रुम सबै बुकिङ |
काठमाडौं । नयाँ वर्ष मनाउनका लागि मुलुकभरका मुख्य पर्यटकीय गन्तब्यका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । काठमाडौं नजिकका पर्यटकीय गन्तब्य नगरकोट, धुलिखेल लगायतमा रहेका होटलमा आन्तरिक पर्यटक भरिभराउ छन् भने चितवन र पोखरामा पनि पर्यटकको चाप बढी छ ।
सौराहामा आन्तरिक पर्यटकको भिडभाड छ । सौराहामा पर्यटकीय १ सय १० होटल छन् । यहाँ २ हजार ८ सय पर्यटक राख्न सक्ने क्षमता छ । मूख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुंगा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको गैँडा, बाघलगायत जंगली जनावर हेर्न मन पराउँछन् ।
वन्यजन्तु पर्यटनका हिसाबले चितवन नेपालकै पहिलो गन्तव्य हो । आन्तरिक पर्यटकको प्रमुख गन्तब्य पोखरामा नयाँ वर्ष सेलिब्रेसनका लागि बेग्लै रौनक छ । पोखरा आसपासका धम्पुस, रुपाकोट, बेगनासलगायतका स्थानका पनि पर्यटक खचाखच छन् । नयाँ वर्षसँगै फेवा महोत्सवकै लागि घुम्न आउने पर्यटकको संख्या पनि बढी छ ।
फेवातालको शिरमा रानीवनमाथि देखिने विश्व शान्ति स्तूप पनि यहाँको अर्को पर्यटकीय गन्तव्य हो । फेवाताल, हिमाल, सराङ्कोटलगायतका स्थानको अवलोकन पर्यटकको रोजाइमा पर्ने गरेका छन् । पोखराको विन्ध्यवासिनी मन्दिर, सराङ्कोट, लेखनाथ नगरपालिकास्थित बेगनास, रुपालगायतका सात ताल, महेन्द्र गुफा, चमेरो गुफा, सेती नदीको गल्छी, माटेपानी गुम्बा, अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय आदि पर्यटकका रोजाइमा पर्ने गरेका छन् । काठमाडौंमा रहेका होटलको अक्युपेन्सीं ६० प्रतिशत रहेको छ ।