वैशाखदेखि दोस्रो बजारमा प्यान अनिवार्य |
काठमाडौँ । आज नयाँ वर्षदेखि शेयर कारोबारमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वैशाखदेखि दोस्रो बजारमा प्यान अनिवार्य गर्न लागेको हो ।
एउटा कारोबारमा पाँच लाख वा त्यो भन्दा बढी मूल्यको शेयर कारोबार गर्ने लगानीकर्ताले शेयर कारोबार गर्दा प्यान नम्बर अनिवार्य दाखिला गर्नुपर्ने नेप्सेले जानकारी दिएको छ ।
सोमबारदेखि लगानीकर्ताले शेयर कारोबार गर्दा प्यान नम्बर दाखिला गर्नु पर्नेछ । पाँच लाख भन्दा कम मूल्यको शेयर कारोबार गर्ने साना लगानीकर्ताले भने प्यान नम्बर दाखिला गर्नु पर्ने छैन ।
नेप्सेले प्यान अनिवार्य गर्न कारोबार प्रणालीमै सुधार गरेको छ । शेयर कारोबार गर्ने स्वचालित अनलाइन प्रणालीमै प्यान नम्बर राख्नु पर्ने व्यवस्था गरिएको छ । पाँच लाख वा त्यो भन्दा बढी मूल्यको शेयर कारोबार गर्ने लगानीकर्ताले प्यान नम्बर नराखे प्रणालीलेनै शेयर कारोबार नगर्ने नेप्सेको भनाई छ ।
पछिल्लो समय पाँच लाख वा त्यो भन्दा बढी मूल्यको शेयर कारोबार दैनिक ७० देखि ११० वटा सम्म हुने गरेको छ । गत आइतबारदेखि बिहीबार सम्म भएको कारोबारको तथ्याङकको आधारमा यस्तो देखिएको हो । नयाँ लगानीकर्तालाई प्यानमा दर्ताकोलागि ब्रोकर कम्पनीले सहजीकरणको भूमिका निर्वाह गर्ने छन् । यस अघिनै नेप्सेले गत चैत १० गते देखि स्वेच्छिक रूपमा प्यान नम्बर राख्ने व्यवस्था गरिसकेको छ ।