कारले ‘ओभरटेक’ गर्न खोज्दा धरानमा दुर्घटना, ३ जनाको मृत्यु |
काठमाडौं । सुनसरीको धरानमा गएराति सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
धरान उपमहानगरपालिका–८ पानीट्यांकीमा गएराति ११ बजे अनियन्त्रित बा २० च ४०७६ नं. को कार र को १ ख ६७६१ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किएर भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।
सुनसरीमा कार्यरत नेपाल प्रहरीका डीएसपी ज्ञानेन्द्र फुयालले दुर्घटनाको पुष्टि गर्दै अनील श्रेष्ठ, जनक बुढाथोकी र मदन लिम्बुको मृत्यु भएको जानकारी दिए । श्रेष्ठ इटहरी ४ का हुन भने बुढाथोकी धनकुटाका हुन् । लिम्बुको भने ठेगाना खुलेको छैन ।
कारमा सवार तीन जनाको मृत्यू
इटहरीतर्फ जाँदै गरेको कार ट्याक्टरमा ठोक्किएर अनियन्त्रित हुँदै बसमा ठोक्किँदा ५ जना घाइते भएको डीएसपी फुयालले जानकारी दिए । घाइतेको अहिले नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, घाइतेको अवस्था सुधारोन्मुख छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा कारले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको डीएसपी फुयालले जानकारी दिए ।