आज चैतेदशैं र रामनवमी मनाइदै, शक्तिपीठमा भक्तजनको भीड |
काठमाडौं । हिन्दू धर्मालम्बीहरुले आज रामनवमी र चैतेदशैं पर्व मनाउँदै छन् । फरक–फरक दिनमा चैतेदशैं र रामनवमी पर्व पर्ने गरेको भए पनि यस वर्ष एकै दिन परेको पञ्चांग निर्णायक समितिले जानकारी दिएको छ । अष्टमीलाई पूर्वाह्न र नवमीलाई अपराह्नको समय लिनुपर्ने भएकाले एकैदिन दुवै पर्व परेको पञ्चांग निर्णायक समितिको भनाइ छ ।
दशैं तथा रामनवमीको अवसरमा शनिबार बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक दशैं मनाउने गर्छन् । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । बडा दशैंमा जमरा र टीका लगाउने प्रचलन भए पनि चैते दशैंमा भने टीका लगाउने प्रचलन छैन ।
वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको शास्त्रमा वर्णन गरिएको उल्लेख छ । चैते दशैंको दिन काठमाडौंका भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।
चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी ‘रामनवमी’ पर्व मनाइन्छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लागेको छ ।