नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध, किन पब्जीमा प्रतिबन्ध लगाइयो ? |
काठमाडौं । सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध लगाएको पुष्टि गरे । पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको जानकारी दिए ।
पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।
के हुन्छ पब्जीमा ?
पब्जीमा धेरै मानिसको एउटा आइल्याण्ड हुन्छ, जहाँ एकअर्कालाई मार्ने प्रयास गरिन्छ । एक्लै, दुई जना साथी बनेर, चार जना साथी बनेर टिमका रुपमा पनि खेल्न सकिन्छ । यसमा आफू बचेर बस्नु र अरुलाई मार्नु नै जितको मूल आधार हो । जो अन्तिमसम्म बाँचिरहन्छ उही विजेता बन्छ ।
भर्चुअल संसारमा नरमाउनेका लागि रुचीकर नभए पनि त्यसैमा डुबेकाहरुले भने पब्जीमा छुट्टै संसार पाउँछन् । नेपालमा नै केही समय अगाडि पब्जीमार्फत नै भएको चिनजान मायाप्रेममा परिणत भएर एक जोडीले बिबाह गरेको खबर बाहिरिएको थियो ।
सन् २००० मा ‘ब्याटल रोयल’ नामको एउटा जापानी चलचित्र बनेको थियो । त्यसैमा आधारित रहेर दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले सुरुवाती चरणमा २०१७ को मार्चमा ‘प्लेयर अननोन्स ब्याटल ग्राउण्ड्स’ अर्थात पब्जी खेल बनाएको हो । यसलाई डिसेम्बर २०१७ मा पूर्णरुपमा बाहिर ल्याइयो । यसका निर्माताका रुपमा ब्रेन्डन ग्रिनीलाई लिइन्छ । जसलाई हिजोआज ‘प्लेयर अननोन’ कै नामले समेत चिनिन्छ ।
२०१८ मा पब्जीलाई भिडियो गेम प्रकाशक तथा वितरक स्टिम कर्पोरेसनले ‘वर्षको उत्कृष्ट भिडियो गेम’ को अवार्ड पनि दिएको थियो । खेल सुरु हुँदा सय जनासम्म भर्चुअल खेलाडी हुन्छन्, जसलाई प्लेनमा राखेर एउटा समुद्री तटमा लगेर प्यारासुटमार्फत छाडिन्छ । त्यसपछि त्यहाँ विभिन्न स्थानमा राखिएका हतियार, गोली, बम, बुलेट प्रुफ भेस्ट, औषधीजस्ता सामान संकलन शुरु हुन्छ । त्यसपछि नै मार्ने र बच्ने प्रक्रिया शुरु हुन्छ ।
खेल हुँदै जाँदा युद्धक्षेत्र निश्चित घेराभित्र खुम्चिँदै जान्छ र खुम्चिनुभन्दा पहिले तोकिएको समयमै घेराभित्र जान सक्नुपर्छ । यदि जान नसके विस्तारै खेलाडीको स्वास्थ्य कमजोर हुँदै गएको संकेत देखिन्छ । यदि स्वास्थ्य बचाउन नसके खेलाडीको मृत्यु हुन्छ । जब जब खेलाडी कम हुँदै जान्छन्, खेल अझ रोचक हुँदै जान्छ । खेल हुँदै जाँदा राम्रा हतियार, औषधी र बुलेट प्रुफ भेस्ट निश्चित क्षेत्रहरुमा खसालिन्छ, जसलाई ‘एयर ड्रप’ भनिन्छ ।
जब अन्तिममा कुनै समूह या व्यक्ति विजेता बन्छ, तब त्यसलाई ‘विनर विनर चिकेन डिनर’ भनेर खेल जितेको संकेत दिइन्छ । पब्जीमा अंक आउने चार तरिका छन् । एउटा गेम प्वाइन्ट, जसमा कति समयसम्म खेलाडी टिकिरहन सक्छ भन्ने कुरा प्रमुख रहन्छ । अर्को हिट प्वाइन्ट, जसमा दुश्मनलाई गोलि हानेको आधारमा अंक आउँछ । तेस्रो किल प्वाइन्ट, जसमा दुश्मनलाई मारेपछि निश्चित अंक आउँछ । समूहमा खेलेका बेला भने यस्तो अंक बाँडिने गर्दछ । अर्को जितपछि पनि निश्चित अंक आउँछ ।
किन लगाइयो प्रतिबन्ध ?
पब्जी खेलका कारण कतिपयको मानसिक सन्तुलन बिग्रिएकोदेखि आत्महत्या गरेका घटनाहरुसमेत संसारका विभिन्न भागबाट आउने गरेका थिए । त्यसैले पब्जीलाई प्रतिवन्ध लगाउने कुरा अन्य देशहरुमा पनि उठ्ने गरेको छ ।
मनोविदहरुका अनुसार पब्जीले खेलाडीलाई एकोहोरो बनाउँछ । उनीहरु दिनरात यसमा कसरी जित हासिल गर्ने भन्ने ध्याउन्नमा हुन्छन् । यसले उनीहरुको दैनिक व्यवहार नै प्रभावित गर्न सक्ने देखिएको छ ।
भिडियो गेम भनेको एउटा मनोरञ्जनको साधन हो । तर, पब्जी मनोरञ्जनमा मात्रै सिमित भएन । यो लागूऔषध जस्तै बन्यो । यसलाई मन्द विषको संज्ञा समेत दिने गरिएको छ । त्यसैले गर्दा पब्जीलाई प्रतिबन्ध लगाउने नागरिक हितमै देखिन्छ ।
यद्यपि, व्यवहारिक पाटोमा यो प्रतिवन्धलाई कार्यान्वयन गर्न जटिल हुन सक्छ । यो एपलाई डाउनलोड गर्नै नमिल्ने बनाउने हो वा खेल्नेलाई कारवाही गर्ने हो भन्ने सरकारले प्रष्ट पारेको छैन ।