जेट एयरवेज आर्थिक संकटमा, काठमाडौं सेवा बन्द हुने |
काठमाडौं । आर्थिक रुपमा टाट उल्टनेतर्फ उन्मुख भारतीय विमान सेवा कम्पनी जेट एयरवेजले काठमाडौं उडान बन्द गर्ने भएको छ ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीका अनुसार शुक्रबारदेखि सोमबारसम्म काठमाडौं उडान नगर्ने अनौपचारिक जानकारी जेट एयरवेजले दिएको छ । स्रोतले भन्यो अनौपचारिक जानकारी आएको छ, उनीहरुका धेरै जहाज ग्राउन्डेड भएका कारण उडान रोकेको हुनुपर्छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलाई जेट एयरवेजले विमानस्थलको सेवा प्रयोग गरेबापत १८ करोड रुपैयाँ तिर्नुपर्ने बक्यौता छ । आर्थिक रुपमा समस्याग्रस्त भएको यस एयरवेजको सेवा बन्द हुँदा बक्यौता उठाउन कठिन हुन सक्नेछ ।
जेट एयरवेज भारतको सबैभन्दा पुरानो निजी एयरलाइन्समध्ये एक हो । जेट एयरवेज नेपालमा लगातार दुई वर्ष सबैभन्दा बढी पर्यटक भित्राउने कम्पनी बनेको थियो ।
हाल यो एयरलाइन्स ११० करोड डलर घाटामा रहेको भारतीय मिडियाहरुले जनाएका छन् । यदि जेट एयरवेज बन्द भयो भने २३ हजारको नोकरी जोखिममा पर्ने आँकलन गरिएको छ ।
१ अप्रिल १९९२ मा यो कम्पनी खुलेको थियो । १९९३ मा चार बोइङ ७३७ विमानको साथमा पहिलो पटक उडान सेवा शुरु गरेको यो कम्पनी २०१२ मा आइपुग्दा भारतकै सबैभन्दा ठूलो निजी विमान कम्पनी बनेको थियो । तर, सन २०१८ देखि यो आर्थिक संकटमा परेको थियो ।
गत हप्तामात्र जेट एयरवेजका २५० भन्दा कर्मचारी जागिरको खोजीमा स्पाइसजेटमा गएको खबर सार्वजनिक भएको थियो । अंग्रेजी वेबसाइट मनीकन्ट्रोलमा प्रकाशित खबरअनुसार २० मार्चमा आयोजित स्पाइसजेटको वाक–इन–इन्टरभ्यूमा जेट एयरवेजका २६० पाइलट पुगेका थिए, जसमा १५० क्याप्टेन थिए ।