नेपाल बैंकको ५९ औं वार्षिक साधारण सभा आह्वान, शेयरधनीले कुनै लाभांश नपाउने |
काठमाडौं । नेपाल बैंकले बैशाख २२ गते आइतबार ५९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । चैत १९ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले नेपाल एपीएफ क्लब हलचोक स्वयम्भुमा बिहान ११ बजे सभा बोलाएको हो ।
साधारण सभामा आर्थिक वर्ष २०७४∕७५ का नाफा नोक्सान हिसाब लगायतको वित्तीय विवरण माथि छलफल गरि पारित गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालक निर्वाचन र आर्थिक वर्ष २०७५∕७६ को लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमि निर्धारण लगायतका साधारण एजेण्डा रहेका छन् ।
नेपाल बैंकले २२ वर्षपछि गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई आकर्षक बोनस बाँड्ने तयारी गर्दै गर्दा राष्ट्र बैंकले बैंकलाई रेगुलेटरी रिजर्भ कायम गरेर मात्र लाभांश वितरण गर्न निर्देशन दिएपश्चात नेपाल बैंकका शेयरधनीहरु गत आर्थिक वर्षको नाफाबाट पनि बोनस पाउनबाट बञ्चित भएका हुन्। । गत आर्थिक वर्षको नाफाबाट लाभांश नपाएपनि शेयरधनीले चालु आर्थिक वर्षको मुनाफाबाट भने लाभांश वितरण गर्नसक्ने अवस्थामा बैंक पुगेको छ ।
साधारण सभाका लागि बैंकले बैशाख ९ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकाले बैशाख ८ गते आइतबारसम्म कायम रहने शेयरधनी मात्र साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।