अमेजन मालिक दम्पत्तिको डिभोर्स टुङ्गियो, पत्नीले पाइन ३६ अर्ब डलर |
विश्वका सबैभन्दा धनी दम्पत्ति अर्थात ट्रिलियन डलर कम्पनी अमेजनका मालिक जेफ बेजोस र उनकी पत्नी म्याकेन्जी बेजोसको सम्बन्ध विच्छेदले अन्ततː पूर्णता पाएको छ । जेफ र म्याकेन्जीले आ–आफ्नो ट्वीटरमार्फत आफूहरुको वैवाहिक सम्बन्ध भंग गर्ने प्रक्रिया टुंगाएको घोषणा गर्दै विज्ञप्ती जारी गरेका छन् ।
आफ्नो विज्ञप्तिमा म्याकेन्जीले दम्पत्तिको नाममा वासिङ्टन पोष्ट र ब्लु ओरिजिन कम्पनीमा रहेको शेयरको अधिकार आफूले पूर्णरुपमा त्याग गरेको र अमेजन कम्पनीको शेयरमध्ये ७५ प्रतिशत जेफलाई छाडेको बताएकी छिन् । बेजोस दम्पत्तिको नाममा रहेको शेयर मध्ये २५ प्रतिशत मात्र आफूले लिएकी म्याकेन्जीले आफ्नो शेयरबापतको भोटिङ अधिकार पनि जेफ बेजोसलाई नै प्रदान गरेकी छिन ।
आफ्नो ट्वीटमा म्याकेन्जीले डिभोर्सको प्रक्रिया टुंगो लगाउने क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अब जेफसँग साथी तथा बच्चाहरुको अभिभावकको नयाँ अध्ययन शुरु गर्ने बताएकी छिन ।
अमेजन लगायतका कम्पनीमा जेफ बेजोसको निरन्तर योगदानलाई सहयोग गर्नका लागि आफूले त्याग गरेको पनि उनले बताएकी छिन् । साथै उनले आफ्नो भावी योजनाबारे आफू निकै उत्साहित हुनुका साथै विगतप्रति पनि अनुग्रहित रहेको उल्लेख गरेकी छिन् ।
यस्तै जेफ बेजोसले आफ्नो ट्वीटमा भूतपूर्व पत्नी म्याकेन्जीको सहयोगका लागि आफू कृतज्ञ रहेको र म्याकेन्जीसँग आगामी दिनमा साथी तथा सह–अभिभावकको सम्बन्धका लागि आफू उत्साहित रहेको पनि बताएका छन् । उनले म्याकेन्जीको प्रसंसा गर्दै आफूले भविष्यमा सधै उनीबाट सिकिरहने पनि बताएका छन् ।
जेफ बेजोसको पहिलो नम्बर कायमै रहने
फोब्र्सको पछिल्लो तथ्यांक अनुसार जेफ बेजोस कूल १ खर्ब ३१ अर्ब डलर सम्पत्ति सहित विश्वका सबैभन्दा धनी मानिस हुन् । उनको त्यो सम्पत्तिमा उनकी तत्कालीन पत्नी म्याकेन्जीको पनि हक थियो । डिभोर्ससँगै म्याकेन्जीको भागमा झण्डै ३६ अर्ब डलर परेको छ । यति हुँदा हुँदै पनि अमेजन कम्पनीको बढेको शेयरका कारण बेजोसको अमेजनमै १ खर्ब ७ अर्ब डलर बराबरको शेयर छ ।
उनको सम्पत्तिको रुपमा अन्य कम्पनीहरु पनि रहेका छन् । यी सबै जोड्दा दुनियाको सबैभन्दा धनी व्यक्तिको रुपमा बेजोसको पहिलो स्थान खल्बलिने देखिँदैन । किनकी बेजोसलाई पछ्याइरहेका दोश्रो स्थानका बिल गेट्सको कूल सम्पत्ति साढे ९६ अर्ब डलर मात्र रहेको छ ।
एजेन्सीको सहयोगमा