रसुवागढी र साञ्जेनले बैशाख ६ गतेदेखि डेढ अर्बको आईपीओ जारी गर्ने | ऊर्जामन्त्रीले गरे हजार कित्ता सेयर किन्ने घोषणा
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनीले आगामी बैशाख ६ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएका छन् । पछिल्लो समय जनताको जलविद्युत कम्पनी अन्तर्गत समेटिएका दुबै कम्पनीको गरि करिब एक अर्ब ५० करोडको शेयर सर्वसाधारणमा निष्काशन हुन लागेको हो ।
मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले जनताको जलविद्युत कार्यक्रममा परेको रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको एक हजार कित्ताका लागि आवेदन दिने घोषणा गरेका हुन । मंगलबार नै दुबै आयोजनाले एकैपटक सार्वजनिक सूचना जारी गरेर सर्वसाधारणबाट सेयर आवेदन माग गरेका छन् । दुबै आयोजनाले यही बैशाख ६ गतेदेखि शेयरको विक्री खुला गर्ने छन् । छिटोमा १० गते र ढिलोमा जेठ ५ गतेसम्मलाई शेयर विक्री हुने गरी उल्लेख छ ।
मंगलबार प्रकाशित भएको आह्वानपत्र अनुसार रसुवागढी हाइड्रोपावरले जारी पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने एक अर्ब दुई करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको एक करोड २ लाख ६३ हजार १५० कित्ता शेयर निष्काशन गर्नेछ । निष्काशित शेयरमध्ये चार प्रतिशत बराबरको ४ लाख १० हजार ५२६ कित्ता कर्मचारीहरुलाई र ५ लाख १३ हजार १५७ कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टाएर वाँकी रहेको ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणमा निष्काशन हुनेछ ।
उता साञ्जेन जलविद्युत कम्पनीले कुल जारी पूँजी ३ अर्ब ९५ करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्नेछ । निष्काशित शेयरमध्ये चार प्रतिशत बराबरको २ लाख १९ हजार कित्ता कर्मचारीहरुलाई र २ लाख ७३ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टाएर वाँकी रहेको ४९ लाख ८२ हजार २५० कित्ता शेयर सर्वसाधारणमा निष्काशन हुनेछ ।
दुवै कम्पनीले निष्काशन गर्ने आईपीओमा लगानीकर्ताले न्यूनतम प्रतिकित्ता ५० कित्ताका लागि पाँच हजार रुपैयाँदेखि अधिकतम ५ हजार कित्ताका लागि पाँच लाख रुपैयाँसम्मको आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरु ७७ जिल्लाबाटै आईपीओमा आवेदन गर्न सकिन्छ । त्यसको अलावा मेरो शेयर प्रयोगकर्ताहरुले सो सफ्टवेयर मार्फत पनि आईपीओ भर्न सक्नेछन् ।
शतप्रतिशत नै भुक्तानी गर्नुपर्ने
जनताको जलविद्युत आयोजना अन्तर्गत समेटिए पनि यी दुबै कम्पनीहरुको आईपीओमा भने लगानीकर्ताले अंकित मूल्यमा शतप्रतिशत रकम नै भुक्तानी गर्नुपर्ने हुन्छ ।
जनताको जलविद्युत आयोजना अन्तर्गत शेयर निष्काशन हुने अन्य कम्पनीको हकमा भने अग्रम दश प्रतिशत रकम संकलन गरि वाँकी ९० प्रतिशत रकम आयोजनाको भौतिक प्रगति ५० प्रतिशतभन्दा बढी निमार्ण सम्पन्न भएपश्चात मात्र संकलन गर्न सक्ने व्यवस्था रहेको छ ।
रसुवागढी हाइड्रोपावरले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ भने साञ्जेनले १४.८ मेगावाट क्षमताको साञ्जेन माथिल्लो र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
साञ्जेनका दुबै आयोजनाहरु २०७६ पुस मध्यसम्म र रसुवागढी जलविद्युत आयोजनाले २०७६ फागुनदेखि व्यवसायिक विद्युत उत्पादन गर्ने प्रक्षेपण छ ।