१५ वटा फ्रान्सेली कम्पनी काठमाडौंमा, लगानीमा चासो |
काठमाडौं । नेपाली र फ्रेन्च उद्यमी व्यवसायीबीच काठमाडौंमा छलफल भएको छ । नेपालमा संयुक्त सहकार्यका सम्भाव्यता खोजी गर्ने सम्बन्धमा छलफल भएको हो ।
नेपाल भ्रमणमा आएको फ्रान्सेली कम्पनीका लगानीकर्ता, उद्यमी व्यवसायीसँग भएको व्यावसायिक भेटवार्तामा नेपाली उद्यमी व्यवसायीहरूले सहकार्यका सम्भाव्य क्षेत्रहरू प्रस्तुत गरेका थिए ।
त्यस अवसरमा फ्रान्सेली कम्पनीहरूका तर्फबाट जल तथा नवीकरणीय ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, दिगो र स्मार्ट शहरीकरण, कृषि तथा खाद्य प्रशोधन, शहरी यातायात, फोहर व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्यको सम्भाव्यता प्रस्तुत गरिएको थियो ।
नेपालमा भएको लगानी सम्मेलन लगत्तै नेपालस्थित फ्रान्सेली राजदूतावासको पहलमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरिएको सो कार्यक्रमलाई निकै महत्वका साथ हेरिएको छ । व्यावसायिक भेटवार्तामा भारत तथा फ्रान्समा लगानी गरिरहेका १५ वटा फ्रान्सेली कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल बाह्य लगानी आकर्षण गर्नमा सबै हिसाबले तयारी अवस्थामा रहेको र नेपालमा लगानीको पूर्ण वातावरण भएकाले निर्धक्क भएर लगानी गर्न फ्रान्सेली कम्पनीहरूलाई आग्रह गरेका छन् ।
नेपाल र फ्रान्स बीचको दौत्य सम्बन्ध जतिकै मजबुद आर्थिक सम्बन्ध पनि हुनुपर्नेमा अर्थमन्त्रीको जोड थियो । नेपालमा लगानी बढाउने इच्छा देखाएर तपाईहरू यहाँ आउनु भएकोमा सरकारको तर्फबाट फ्रेन्च प्रतिनिधिमण्डललाई स्वागत गर्छु भन्दै फ्रेन्च लगानीकर्ताहरूले खोजे अनुसारको लगानीको वातावरण दिन सरकार तयार छ, अर्थमन्त्री खतिवडाले भने ।
त्यस्तै महासंघका अध्यक्ष भवानी राणाले नेपाल लगानीको लागि ‘भर्जिन ल्यान्ड’ भएको बताउँदै सबै क्षेत्रमा उत्तिकै सम्भावना छन्, नीतिगत तथा कानुनी सुधार भएका छन् र सबैभन्दा ठूलो कुरा नेपाल सरकार, राजनीतिक दलहरू र निजी क्षेत्र सबै नै बाह्य लगानी आकर्षणको अभियानमा छ, अध्यक्ष राणाले भनिन् ।
लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भर्खरै सम्पन्न लगानी सम्मेलनको निश्कर्षसहित नेपालमा लगानीका सम्भाव्य परियोजनाका बारेमा प्रस्तुती दिएका थिए ।
नेपालका लागि फ्रान्सका राजदूत फ्रान्साँ जाभियर लेजेरले दुई देशबीचको व्यावसायिक सहकार्यमा यो कार्यक्रमलाई परिणामदायी बनाउन आफूले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्वता जनाए ।